सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रावललाई संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कैलालीका रावललाई सञ्चारमन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएका ३५ जनामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो । रावल लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।
त्यसैगरी सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ।
