जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले आज बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ (राफ्टिङ-बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो । यसअघि पनि हावाहुरीका कारण फेवातालमा फसेका पर्यटकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्धार टोलीले पटक–पटक उद्धार गर्दै आएका थिए ।
दैनिक जस्तो दिउँसो हावाहुरी, चट्याङ र मध्यम वर्षा भइरहेकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि मौसम असामान्य भएको अवस्थामा सामान्यतया दिउँसो २ बजेपछि सेवा सञ्चालन नगर्न भनिएको छ । सामान्य अवस्थामा पनि साँझ ६ बजेपछि सबै खालका जलपर्यटनका गतिविधि अनिवार्य रुपमा बन्द गर्न प्रशासनको निर्देशन छ ।
प्रशासनले सम्बन्धित निकायमा दर्ता नभएका, मूल्य सूची नभएका, मूल्यमा एकरूपता नभएका, सेवाग्राहीलाई बिल बिजक जारी गर्ने नगरेका, सेवाग्राहीको बिमा नगरेका, असुरक्षित र अव्यवस्थित ढङ्गले सञ्चालन भएको भन्ने जनगुनासो आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
उनले प्रशासनले निरन्तर अनुगमनसमेत गरिरहेको जनाउँदै भने , “सूचनाको विपरीत गतिविधि भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुन्छ ।” प्रशासनको सूचनामा पेशा, व्यवसाय सम्बन्धित निकायहरूमा दर्ता एवम् नवीकरण गर्न, लाइफ ज्याकेट लगाउन भनिएको छ । सेवाग्राहीहरूलाई डुङ्गा, कायाकिङ तथा सर्फिङ चलाउने तरिका, आइपर्न सक्ने समस्या, समस्या निराकरण गर्ने तरिकाबारे पनि जानकारी दिनुपर्ने छ ।
व्यवसायी-सञ्चालकलाई धूम्रपान, मद्यपान, लागुपदार्थ सेवन नगर्न र सेवाग्राहीले गरेको शङ्का भएमा सेवा उपलब्ध नगराउन भनिएको छ । १६ वर्ष वा सोभन्दा मुनिका बालबालिकालाई अभिभावक बिना वा एक्लै कायाकिङ तथा सर्फिङ गर्न नदिने प्रशासनको निर्देशन छ।
सेवाग्राहीको बिमा अनिवार्य गर्न, कुनै किसिमको दुर्घटना भएमा सेवा प्रदान गर्ने निकायले तत्काल उद्धार गर्न र सुरक्षा निकायलाई खबर गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार जलपर्यटन व्यवसाय सञ्चालन गर्न सम्बन्धित निकायमा दर्ता तथा नवीकरण अनिवार्य गरिएको छ । सेवा लिन आउने सबैलाई अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्ने छ भने लाइफ ज्याकेटबिना डुङ्गा, कायाकिङ तथा सफिङ सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रशासनले सेवा सुरु गर्नुअघि यात्रुलाई डुङ्गा तथा कायाकिङ सञ्चालनको तरिका, सम्भावित जोखिम, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपाय र असुरक्षित क्षेत्रबारे जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना जलपर्यटन गतिविधिमा सहभागी गराउन नपाइने तथा जोखिमयुक्त क्षेत्रमा कायाकिङ वा सफिङ सञ्चालन गर्न रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दिनहुँ तालमा घटना भएपछि चालिएको कदमले दुर्घटना कम गर्न सघाउने विश्वास व्यक्त गरे ।
