अभिनेता जितु नेपाल यस पटक चलचित्र निर्माता बनेका छन् । उनको नयाँ चलचित्र ‘आई एम जीतबहादुर’ आज शुक्रवारबाट चलचित्र घरहरूमा रिलिज भएको छ । विश्वकप फुटबल खेल चलिरहेको बेला चलचित्र ‘आई एम जीतबहादुर’को बुकिङमा सोचे अनुसारको उत्साह देखिएको छैन ।
यसै बिच यो चलचित्रका वितरकले विश्वकप फुटबललाई कारण देखाउँदै चलचित्र ‘आई एम जीतबहादुर’को केही दिन टिकट किनेर आफूले दर्शक बोलाएर चलचित्र घरमा हाउस फूल देखाउनु पर्ने प्रस्ताव निर्माता एवम् अभिनेता जितु नेपालसँग राखेका थिए ।
जितुले यो प्रस्ताव सोझै अस्वीकार गरेका छन् । काठमाडौँमा बुधवार आयोजना गरिएको ‘आई एम जीतबहादुर’को प्रिमियर सोमा जितुले आफूलाई वितरण पक्षले चलचित्र चलाउनको लागि आफूले टिकट किनेर केही दिनसम्म कृत्रिम रूपमा चलचित्र घर हाउस फूल बनाउन प्रस्ताव गरेको जानकारी गराउँदै भने,‘मलाई वितरकले दाइ टिकट काट्नुपर्छ, पैसा ठिक पार्नुस् है भनिसक्नुभयो। मैले त दुःख गरेर चलचित्र बनाएँ, अब टिकट काट्ने पैसा मसँग छैन भनिदिएँ ।’
जितुले अगाडि थपे,‘टिकट काटेर मात्रै भएन, चलचित्र हेर्ने मान्छे पनि खोज्नु¥यो। उनीहरूले चलचित्र राम्रो छ भनेर पनि भनिदिनु प¥यो’, यसरी अहिले चलचित्र निर्माण गरेर मात्र नहुने, आफैँले टिकट किन्नु पर्ने र टिकट बाँढेर दर्शक हलसम्म बोलाउनु पर्ने बाध्यतामा निर्मातालाई पार्ने गरिएको पनि जितुले खुलासा गरे । निर्माता एवम् अभिनेता जितुको भनाइमा यहाँ कतिपय निर्माताले आफ्नो चलचित्रले राम्रो व्यापार गरेको देखाउन पनि आफ्नै पैसाले टिकट खरिद गरेर चलचित्रलाई हाउस फूल देखाउने गर्छन् ।
नेपाली चलचित्र रिलिज गर्दा सुरुको एक दुई दिन हाउस फुल देखाउन यहाँ निर्माताहरुलाई नै वितरकले टिकट किन्न लगाउँछन् । यस्तै चलचित्र एक हप्ताबाट अर्को हप्तामा प्रवेश गर्दा धेरै चलचित्र घरमा सो जोगाउन पनि प्राय बिहीबार थुप्रै हलमा निर्मातालाई टिकट किन्न लगाएर शुक्रवारबाट आफ्नो चलचित्र अर्को हप्तामा प्रवेश गराउँछन् । यसरी चलचित्र घरमा चलिरहेको चलचित्रको टिकट बिक्री राम्रो हुँदा चलचित्र घर सञ्चालकले सो चलचित्रलाई ‘होल्ड ओभर’ गरेर अर्को हप्ता पनि चलाउँछन् ।
गत वर्ष रिलिज भएको नेपाली चलचित्र ‘लाज शरणम्’मा पनि यस्तै गरियो । सो चलचित्र करिब ५ करोडको लागतमा निर्माण भएको थियो । चलचित्रलाई चलचित्र घरमा लामो समयसम्म हाउस फूल देखाइयो भने दर्शक आउँछन् भन्ने सल्लाह यसका निर्माता नवीन कुमार श्रेष्ठलाई दिइयो । नभन्दै निर्माता नवीनले करिब ३० लाख रुपैयाँको टिकट खरिद गरेर दुई हप्तासम्म शुक्रवार र शनिवार चलचित्र घरहरू हाउस फूल बनाए । चलचित्रले जेनतेन ५ करोडको व्यापार ग¥यो । ५ करोड भन्दा माथिको लागत र ३० लाख रुपैयाँको टिकट किन्दा पनि चलचित्रले जम्मा ५ करोडको आम्दानी गरेपछि निर्मातालाई टिकट किनेर चलचित्र चल्ने हैन रहेछ भन्ने महसुर भयो ।
नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष रौनक विक्रम कँडेल आफूले बनाएको चलचित्र चलाउन निर्माता आफैँले टिकट किन्नु पर्ने बध्यताको विरोधी हुन् । यसलाई उनले गलत प्रथाको रूपमा व्याख्या गरे । रौनकको चलचित्र ‘फेरी रेशम फिलिली’ गत वर्ष रिलिज भएको थियो । त्यति बेला वितरकले उनलाई पनि आफ्नो यो चलचित्रको टिकट किनेर दर्शक हलमा ल्याउन र चलचित्रलाई केही हप्तासम्म चलाउन सुझाव दिएका थिए । तर त्यो सुझावलाई आफूले अस्वीकार गरेको उनले राजधानीलाई बताए ।
आधा दर्जन चलचित्र निर्माण गरिसकेका रौनकले बिगतमा आफ्नै चलचित्रहरू टिकट नकिनी हिट भएको जिकिर गरे । सोही कारण टिकट नकिन्ने अडानमा आफू रहेको र चलचित्र ‘फेरि रेशम फिलिलि’ले गरेको व्यापार प्रति सन्तुष्ट रहेको पनि उनले बताए । तर उनको यो चलचित्र भने हिट हुन सकेन । सुरुमा टिकट किनेर चलाएका केही चलचित्रले पछि राम्रो व्यापार गरेको उदाहरण पनि नभएका हैनन् । नेपालकै सर्वाधिक व्यापार गर्न सफल नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले सुरुमा चलचित्र घरमा राम्रो व्यापार गरेका थिएन । तीन दिन टिकट खरिद गरेर हाउस फूल गराएपछि चौथो दिनबाट ‘पूर्णबहादुरको सारंगी’ले व्यापारमा लय लियो । फलस्वरूप यो चलचित्र बक्स अफिसमा ब्लक बस्टर साबित भयो ।
यसपछि वितरकहरूले ‘पूर्णबहादुरको सारंगी’ उदाहरण दिँदै धेरै निर्माताहरुलाई सुरुका हप्तामा आफ्नै चलचित्रको टिकट किन्न लगाए । यो सुत्रमा ‘परान’ सहित केही चलचित्र सफल भए । बाँकी धेरै असफल भए । यहाँसम्मकी ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ चलचित्र ‘रोल नं. १’ दुई साता अघि रिलिज गर्दा यही सूत्र अपनाए । तर यस पटक उनको टिकट खरिद सूत्र काम लागेन । डेढ करोड भन्दा बढी लागतको यो चलचित्रले रिलिज भएको १० दिनमा डेढ करोडको पनि व्यापार गर्न सकेन् । चलचित्र व्यावसायिक रूपमा असफल हुँदै गएपछि बिहीबारबाट यो चलचित्रको टिकट शुल्क आधा घटाइएको छ । टिकट आधा घटाउँदा पनि ‘रोल नं. १’ हेर्ने दर्शकको संख्या बढ्न सकेको छैन ।
यसरी पछिल्लो समय आफ्नो चलचित्रलाई चलचित्र घरमा दोस्रो वा तेस्रो हप्तासम्म टिकाउनको लागि निर्माताहरू आफैँले टिकट किन्नु पर्ने बाध्यता बढेको छ । एक थरी निर्माताहरू यो बाध्यताको विरुद्ध उत्रिए पनि अर्का थरी निर्माताहरू चुपचाप आफ्नै चलचित्रको टिकट किनेर खोक्रो सान देखाउन पछि परेका छैनन् ।
