विश्वकप लिग- २ अन्तर्गत आफ्नो चौथो शृंखलाको तेस्रो खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पाएको छ । शृंखलाका अघिल्ला दुवै खेलमा जित निकालेको नेपाललाई तेस्रो खेलमा स्कटल्यान्डले विशाल लक्ष्य दिएको हो ।
डुन्डीमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३२३ रनको योगफल तयार पार्यो । स्कटल्यान्डका लागि क्याप्टेन रिचे बेरिङटनले १०२ रनको पारी खेले । आरिफ शेखबाट रनआउट हुनु अघि उनले ११४ बलमा ४ छक्का र ६ चौका प्रहार गरे । माइकल लेस ९६ रनमा नटआउट हुँदा चार्ली टियरले ६८ रनको योगदान गरे । मार्क उड ९ बलमा २१ रनमा नटआउट रहे ।
स्कटल्याण्डका लागि बेरिङटन र लेसले छैठौं विकेटका लागि कीर्तिमानी १२५ रनको साझेदारी गरे । स्कटल्याण्डले अन्तिम १० ओभरमा १२३ रन बनाएको थियो ।
नेपालका अधिकांश बलर चुटिए । सुरुवाती पाँच ओभरमा दुई मेडनसहित १२ रन दिएर २ विकेट लिएका करण केसीले थप ४ ओभरमा ६२ रन खर्चे । दिपेन्द्र सिंह ऐरीले ७ ओभरमा ३७ रन दिएर २ विकेट लिए ।
थप विकेट ललित राजवंशीको नाममा रह्यो । उनले आफ्नो स्पेलमा ४१ रन खर्चे । सन्दीप लामिछानेले आफ्नो स्पेलमा ६९ रन दिएपनि विकेट भने लिन सकेनन् । सोमपाल कामीले ९ ओभरमा ७५ रन दिए । आरिफ शेखले ५ ओभर बलिङ गर्दै २२ रन दिए ।
जारी शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।
