खोला अतिक्रमणले बाढीको जोखिममा उपत्यका

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँ, भक्तपुर र ललितपुरका नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिममा छन् । अव्यवस्थित संरचना तथा किनार क्षेत्रमा नदीको बहाव क्षेत्र खुम्च्याएर सडक निर्माण गर्दा बाढीको जोखिम थपिएको हो ।

तर, काठमाडौँमै बर्सेनि बाढीको प्रताडना भोग्ने क्षेत्रका नागरिक यस पटक ढुक्क छन् । काठमाडौँ बुढानीलकण्ठ वडा नं. १०, ११ र १२ तथा काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगरका नागरिक बर्सेनि बाढीको प्रताडना भोग्दै आएका थिए तर यस वर्ष ठुलै पानी पर्दा पनि स्थानीयवासीले बाढीको समस्या बेहोर्नु परेको छैन ।

कपन र सरस्वतीनगरको पानीको स्रोत यज्ञमती र चखुँचाखोला खुला गरिएपछि बाढी आउन कम भएको छ । बाढीको पानी उर्लिंदा यज्ञमतीखोलाले भेट्ने कपनतर्फको भागमा केही क्षेत्र डुबानमा परे पनि सरस्वतीनगरतर्फ चखुँचाखोलाले निकास दिने गरेको छ ।

कपन र सरस्वतीनगर बाढीमा पर्ने गरेको विषय बर्सेनि चर्चामा रहँदै आएको छ तर त्यहाँ मात्रै होइन, काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानका नागरिक बाढी, डुबान र पहिरोको समस्या झेल्न बाध्य छन् । बाढी र डुबानको मुख्य कारण नदीखोला किनार अतिक्रमण नै हो । काठमाडौँ, ललितपुर र भक्तपुरका सबै नदीखोला किनार अतिक्रमणमा परेका छन् ।

जलस्रोत विज्ञ एवं प्राज्ञ दीपक ज्ञवालीका अनुसार बागमती नदीका सहायक खोला किनार मिचेर बस्ती विस्तार गर्ने तथा खोला किनार मिचेर सडक र अन्य संरचना बनाउँदा बहाव क्षेत्र खुम्चिएर बाढी र डुबानको समस्या बढेको हो । उनले भने  “बाढी र डुबान त्यसै भएको होइन नि । यहाँ खोला बस्तीमा परेको होइन । बस्ती चाहिँ खोलामा परेका हुन् ।”

सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सम्भता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार बागमती नदीको किनारमा मात्रै शान्तिनगर, शङ्खमूल, कालीमाटीसहित ११ स्थानमा अव्यवस्थित बसोबास छ । समितिका आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार विष्णुमती किनारमा १० स्थान र मनोहरा किनारको मनोहरा, धोबीखोला किनारका पाँच स्थान अतिक्रमणमा परेका छन् ।

२०८१ असोज १० देखि १३ गतेको भीषण वर्षा र बाढीका कारण कारणका तिनै जिल्लामा बाढीले ठुलै क्षति पुर्‍याएको थियो । बागमती नदी, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचासहित सबै खोला किनारका बस्ती डुबानमा परेका थिए ।

जलस्रोतविज्ञ ज्ञवालीले नदी र खोला किनारमा पक्की पर्खाल लगाएर सडक बनाउँदा केही हदसम्म सुविधा भए पनि वर्षायाममा बाढीको कारक त्यही भएको बताउछन  । उनि भन्छन, “निजी जग्गा भएको ठाउँमा पनि नदीखोलातर्फ मिचेर घर–भवनको संरचना बनाइएको छ । सहायक खोलामा रिटेनिङ पर्खाल बनाएर खोलाको बहाव क्षेत्र खुम्च्याइएको छ । अनि खोला साँघुरो भयो भनेर हुन्छ ! खोलाको बहाव क्षेत्र अतिक्रमण भएको हो । खोल्नुको विकल्पै छैन ।”

तयारीमा जुट्यो प्रशासन 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गत वर्षको बाढीको क्षतिलाई दृष्टिगत गरी जोखिमयुक्त क्षेत्र पहिचान गरिएको बताउदै विपत् व्यवस्थापन समिति, प्रहरी, प्रशासनले विपत्का लागि चाहिने सामग्री, जनशक्ति व्यवस्थापन, तालिम लिने कार्य र स्वयंसेवक पनि तयार गरिएको जानकारि दिए  ।

कुन कुन क्षेत्रमा जोखिम छ ?

काठमाडौँमा बागमती नदी, रुद्रमती (धोबी खोला), भक्तपुरमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका विभिन्न स्थान तथा ललितपुरमा बागमती नदी किनार, गोदावरी र अन्य खोला किनारवासी डुबानको जोखिममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *