महाधिवेशनको सन्देश : रवि पार्टी नेतृत्वमै, बालेनको जिम्मामा सरकार

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह एकै ठाउँमा रहेको बलियो सन्देश दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ।

देशभरबाट चितवनमा केन्द्रित भएका रास्वपा कार्यकर्तामा प्रतीक्षाका केन्द्रबिन्दु पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह नै थिए। तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको उद्घाटन सत्रमा अन्य दलका आमन्त्रित नेताहरू भने पहिल्यै पुगिसकेका थिए।

महाधिवेशन स्थलमा रवि र बालेन सँगै प्रवेश गरेका थिए। सिमसिम वर्षाका बीच उद्घाटन स्थल पुगेका दुई नेतालाई कार्यकर्ताले चर्को हुटिङका साथ स्वागत गरे। महाधिवेशनमा उनीहरू आउँछन् कि आउँदैनन् भन्ने आशंकाका बीच चितवन पुगेका प्रधानमन्त्री बालेन र रवि एउटै छाता ओढेर महाधिवेशन स्थल पुग्दा कार्यकर्ता र प्रतिनिधिहरू थप उत्साहित भएका थिए।

सभापति रवि र वरिष्ठ नेता बालेनले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दा प्रतिनिधिहरूले चितवनको त्यो गर्मीमा पनि राहत महसुस गरेका थिए। यस दृश्यले रवि र बालेनबीच आन्तरिक संघर्ष चलिरहेको छ भन्ने आशंकामा मलम लगाएको छ। पार्टी स्थापनाको चौथो वर्षका अवसरमा आयोजित यस महाधिवेशनमा नयाँ नीति र नेतृत्वबारे चर्चा परिचर्चा भइरहेको छ।

उद्घाटन समारोहमा सभापति लामिछानेले पार्टीमा गरिएका सहमतिका एक–एक अक्षर पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले चुनावअघि नै बालेनको खुट्टामा बल पुर्‍याइएको भन्दै अब गोल हान्ने जिम्मा बालेनकै काँधमा रहेको स्पष्ट पारे। सभापति लामिछानेले रास्वपामा फाटो ल्याउने र नेताहरूलाई लडाउने प्रयास निकै भइरहेको खुलासा पनि गरे। ‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर रास्वपामा सहमति गरेका छौं। सहमतिको एक–एक अक्षर इमानदारीका साथ पालना गर्ने यहाँ उभिएर म प्रण गर्दछु,’ उनले भने।

उनले रास्वपाको नेतृत्वमा दुईतिहाइको सरकार बनेको र पार्टीले त्यसको निगरानी गरिरहेको बताए। उनले भने, ‘रास्वपाले चुनावअघि नै वालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको हो। उहाँले यसलाई निरन्तरता दिइरहनुभएको छ। झुक्किएर त्यो बल कतै यता आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो भयो। यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, म तिनलाई जवाफ दिन होइन, इतिहासलाई जवाफ दिन बोलिरहेको छु।’

सभापति लामिछानेले कांग्रेस र एमालेलाई पार्टीभित्रका अप्ठ्याराहरू सुल्झाउन सुझाव दिएका छन्। उनले कांग्रेस र एमालेका अप्ठ्याराहरू नसुल्झिए त्यो देशकै अप्ठ्यारो बन्न सक्ने टिप्पणी पनि गरे। ‘राष्ट्रिय राजनीतिमा रहेका दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र आआफ्ना अप्ठ्यारा छन्। ती दलका अप्ठ्यारा सुल्झिएनन् भने देशकै लागि अप्ठ्यारो बन्न सक्छ,’ उनले भने, ‘आफ्नो दलभित्रको अप्ठ्यारो मिलाउनुहोला। अन्य दलका अप्ठ्यारा सुल्झिए भने देश राम्रो बाटोमा जानेछ।’

रास्वपामाथि लोकतन्त्र र गणतन्त्रको विषयमा आशंका उब्जिरहेको बेला लामिछानेले लोकतन्त्रको ‘लाइन क्रस’ नगर्ने प्रतिबद्धता पनि जनाए। स्थापनाको ४ वर्षमै संसद्मा १८२ सिट जित्न सफल रास्वपालाई लडाउने अर्को शक्ति अबको युगमा आउन नसक्ने उनले दाबी गरे। ‘यसअघि दलहरू प्रतिस्पर्धी बने। हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन,’ लामिछानेले भने, ‘व्यक्तिगत वैमनस्यता बोकेर बाँच्ने होइन, त्यो सकिनुपर्छ। ठूलो हृदय बोकेर अघि बढ्ने हो।’ उनले ‘फुटाऊ र राज गर’ भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्ताहरूलाई आह्वान गरे। रविले उद्घाटन मन्तव्यका क्रममा भावुक हुँदै आफ्नी श्रीमती नीकिता पौडेललाई पनि सम्झिएका थिए।

प्रधानमन्त्रीले महाधिवेशनबाट दिए स्पष्टीकरण
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले संसद्, सडक र सामाजिक सञ्जालमा उठिरहेका केही प्रश्नहरूको उत्तर महाधिवेशनकै मञ्चबाट दिएका छन्। कतिपय विषयमा उनले स्पष्टीकरण दिएका छन् भने केही विषयको खण्डन गरेका छन्। उनले नेपालको सीमा विवाद र अख्तियारका पदाधिकारीहरूलाई ९ घन्टा थुनेर राखेको भनिएको विषयको पनि जवाफ र स्पष्टीकरण दिए।

प्रधानमन्त्री बालेनले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्न अनुरोध गरे। सीमाको विषयमा आफूले बोलेका कुराहरूलाई लिएर भएको विवादप्रति जवाफ दिँदै उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन। हामीले सीमाको विषयमा बोल्दा उहाँहरूले (भारतीय पक्ष) ले पनि आफ्नो आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो। तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ। कालापानी र लिपुलेकको प्रमाण हामीसँग छ।’

प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि स्पष्ट पारे। उनले भने, ‘ब्रिटिसले राज गर्दाको कालापानी र लिपुलेकको त्यो प्रमाण ल्याउँछौं भनेका हौं। ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं। हामी हाम्रो छिमेकीसँग आफैं कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ र हामी त्यो ल्याउँछौं, त्यही कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियतामा कुनै पनि आशंका गर्नु पर्दैन।’

उनले जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘सरकार भनेको गाडीजस्तै हो। गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ। ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो। स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै चिन्ताहरू आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ,’ उनले भने।null

प्रधानमन्त्री बालेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई आवश्यक परेमा पाँचै वर्ष पनि सोधपुछ गर्ने र सरसल्लाह लिने बताए। उनले पछिल्लो समय अख्तियारलाई सोधपुछ गरिएको विषयमा बोल्दै ५ वर्ष नै राखेर सोधपुछ र सरसल्लाह लिने स्पष्ट पारे। उनले भने, ‘…त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने ५ घन्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौं। ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्न पर्दैन।’ उनले सरकारी सम्पत्ति दोहन भएका घटनाहरूमा भने सरकारले निहुँ खोज्ने बताए।

‘हाम्रो पार्टीले निहुँ खोज्नै परे कस्तो केसमा खोज्छ भने– जहाँ विगतमा फटाइँ भएको छ, सरकारी सम्पत्ति र सरकारी रकमको दोहन भएको छ, त्यहाँ निहुँ खोज्छौं,’ प्रधानमन्त्री शाहले भने। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा सरकार अनियन्त्रित देखिएको भए तापनि नियम–कानुन भने नमिचिने बताए। उनले भने, ‘नियम–कानुनमै बसेर काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौं। हाउभाउ हेर्दा, सोसल मिडिया वा मिडिया हेर्दा अलिकति अनियन्त्रित देखिएला, तर त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रित नै छ, कुनै पनि चिज आउट अफ कन्ट्रोल (नियन्त्रण बाहिर) गएको छैन।’

प्रधानमन्त्री बालेनले रास्वपा र यसको पहिलो महाधिवेशनका सन्दर्भमा गुटबन्दी नगर्नसमेत सचेत गराए। उनले मतदान हुँदा गुट नबनाउन प्रतिनिधिहरूलाई आग्रह गरे। उनले भने, ‘राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ। कुनै एउटा समूहको मायाले मात्र हुँदैन। त्यसैले समूह बनाउने कुराको पछाडि नलाग्नुहोला। त्यस्तो बीउ अहिले नै नरोप्नुस्, जसलाई भोलि बीचैबाट फाँड्नुपरोस्।’

रास्वपाका वरिष्ठ नेता शाहले पुराना दलहरूबाट पनि यो कुरा सिक्नुपर्ने बताए। उनले पार्टीको निर्वाचनतर्फ संकेत गर्दै पराजित भए पनि हतास नहुने बताए। उनले भने, ‘चिन्ता लिनुपर्दैन। यो गठबन्धनको सरकार होइन, एकल पार्टीको सरकार हो। एकल पार्टीको सरकार हुँदा हरेक मन्त्री प्रधानमन्त्री, हरेक सांसद, हरेक पदाधिकारी, हरेक केन्द्रीय सदस्य र हरेक समर्थक प्रधानमन्त्री हो। म पदाधिकारी भएको भए यस्तो गर्थेँ भन्नुहुन्छ भने त्यो योजना ल्याउनुस्, हामी गर्छौं।’

उनले रास्वपा सधैं एउटै मुद्दा बोकेर नहिँड्ने घोषणा पनि गरे। निर्वाचनअघि उठाएका विषयहरू यही कार्यकालमा सम्पन्न गर्ने र अर्को निर्वाचनमा अर्कै मुद्दा लिएर जनताकहाँ जाने उनको भनाइ छ। उनले भने, ‘यही कार्यकालमा सहकारीको समस्या समाधान गर्छौं। यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौं। अर्को चुनावमा यही एजेन्डा बोकेर जाँदैनौं, नयाँ एजेन्डा बोकेर जाने हो।’

अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको हो। झुक्किएर त्यो बल कतै यता आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो भयो।
रवि लामिछाने, सभापति, रास्वपा

यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने ५ घन्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौं। ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्न पर्दैन ।
वालेन्द्र शाह,प्रधानमन्त्री एवं वरिष्ठ नेता, रास्वपा

हामीले हाम्रा पार्टीका नेताहरूलाई भगवान् र ‘बा’ बनाएर गल्ती गरिसक्यौं, तपाईंहरूले त्यसो नगर्नुहोला। गल्ती गरेको बेला आफ्ना नेताहरूलाई पनि प्रश्न गर्नुहोला।
गगन थापा, सभापति, कांग्रेस

नेतृत्वलाई भगवान् नबनाउनुहोस्
कांग्रेस सभापति गगन थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई नेतृत्वप्रति अन्धसमर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गरे। उनले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताए। उनले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको उल्लेख गरे।

‘तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन, सभापति थापाले भने, ‘हामीले हाम्रा पार्टीका नेताहरूलाई भगवान् र ‘बा’ बनाएर गल्ती गरिसक्यौं, तपाईंहरूले त्यसो नगर्नुहोला। गल्ती गरेको बेला आफ्ना नेताहरूलाई पनि प्रश्न गर्नुहोला। हामीले ढिला गर्‍यौं र सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अघि नै भन्न सक्नुपथ्र्यो, तर सकेनौं। हामीले ढिला गर्‍यौं, त्यसबाट तपाईंहरूले सिक्नुहोला। आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला। गल्ती गर्दा अरू पार्टीलाई भन्दा आफ्नै पार्टीलाई भन्न सक्नुपर्छ।’ सभापति थापाले आफ्नो पार्टी रास्वपाको दुस्मन नभई प्रतिस्पर्धी मात्र भएको बताए।

उनले थपे, ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुस्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी आफैं अग्लो हुन चाहन्छौँ।’ उनले रास्वपालाई सानो बनाएर नभई आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा र अग्लो बन्ने कांग्रेसको चाहना रहेको स्पष्ट पारे।

‘रवि–बालेन एक हुनु’ 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा भएको बताए। उनले रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु।’ उनले रास्वपाले ४ वर्षभित्रै ठूलो उपलब्धि हासिल गरेको पनि बताए। उनले भने, ‘जनताको मन जितेर रास्वपाले ४ वर्षमा यो उपलब्धि हासिल गरेको छ।’

उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए। ‘आफैंले १० वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गरेको हुनाले त्यही अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘मैले यसो भनिरहँदा कतिपयले के ललिपप देखाएको भन्छन्। म त मर्न हिँडेको मानिस, मेरो टाउकोको मूल्य तोकिएको थियो। प्रधानमन्त्री पनि भइसकेँ, अब यो उमेरमा के ललिपप खाने? ’ उनले राजनीतिक स्थिरता १०–१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए। उनले थपे, ‘रवि ठूलो कि बालेन भनेर राजनीतिक खेल हुन सक्छ, तपाईँहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुरक्षित छ।’

एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले रास्वपालाई जनमतको सही ढंगले सदुपयोग गर्न सुझाव दिए। उनले अन्यथा त्यसले भयावह जोखिम निम्त्याउने बताए। ज्ञवालीले रवि लामिछाने र बालेन शाहको प्रशंसकका रूपमा रहेको समूहलाई वैचारिक रूपमा प्रस्ट र संगठित शक्तिका रूपमा रूपान्तरित गर्न शुभकामना दिए। उनले भने, ‘तपाईंहरूको काँधमा असिम जनमत छ। त्यो ठीक ढंगले सदुपयोग भएन भने त्यसले निम्त्याउने जोखिम भयावह हुन्छ भन्ने हेक्का राख्नुहुनेछ भन्ने चाहन्छु।

राष्ट्रिय स्वतन्त्र पार्टी असाधारण जनादेशसहित उपस्थित भएको छ। यो जनादेश सुदृढ लोकतन्त्र निर्माणका लागि कसरी रूपान्तरण हुन्छ, सिंगो देशले प्रतीक्षा गरिरहेको छ।’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले केही समयअघि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी दुवै देशको भ्रमण गरेको उल्लेख गर्दै भूराजनीतिक संवेदनशीलतामा सतर्क रहन आग्रह गरे।
उनले भने, ‘एउटा गलत निर्णयले निम्त्याउने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न निकै गाह्रो हुन्छ। सरकारले १०० दिन पूरा गरेको छैन, त्यसैले आलोचना गर्न मन छैन।’ उनले सरकारका प्रारम्भिक केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको बताए।

‘प्रारम्भिक केही निर्णय र गतिविधिले प्रश्न खडा गरेका छन्। ती प्रश्नको जवाफ मलाई चाहिँदैन, नेपाली जनतालाई दिनुहोस्,’ ज्ञवालीले भने, ‘लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था हो। राष्ट्रपति संस्था कमजोर भयो, संसद् कमजोर भयो र जनताका आलोचनालाई बेवास्ता गर्ने व्यवस्थातिर गइयो भने त्यो जनमत नरहन सक्छ।’

उनले सरकारका प्रारम्भिक दिनहरू लोकतन्त्र बलियो बनाउने रास्वपाका वाचापत्रसँग मेल नखाने टिप्पणी गरे। ‘हामी चाहन्छौं ती घटना अपवाद बनुन्। रास्वपाको हातमा जनताको लोकतन्त्र सुरक्षित होस् भन्ने चाहन्छु,’ ज्ञवालीले भने, ‘काम गर्न तीव्र हुटहुटी देखिएको छ। गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिएको हुन्छ। ब्रेक र एक्सिलेटरको सन्तुलन भएन र एक्सिलेटर मात्र थिचियो भने दुर्घटना हुनसक्छ।’

नेकपा नेता वर्षमान पुनले आफ्नो पार्टी र रास्वपाबिच कैयौं समानता रहेको बताए। उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंग गर्दै आफ्नो राजनीतिक बाटो तय गरेको उल्लेख गरे। उनले भने, ‘तपाईंहरू र हाम्रा कैयौं विषयमा समानता छन्। हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं।’ पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा दुवै दल नजिक रहेको उनले बताए। ‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं। हामीबिच सुशासनको एजेन्डामा पनि समानता छ। सुशासनको एजेन्डामा माओवादी र रास्वपाको जति निकट सहकार्य अरूको भएको छैन,’ उनले भने।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा अग्रसरता लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरे। उनले भने, ‘संविधान त्रुटिपूर्ण र विरोधाभासपूर्ण छ, यद्यपि यसका महत्वपूर्ण पक्षहरू पनि छन्। गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता यसका महत्वपूर्ण पक्ष हुन्। संविधानमा रहेका विकृति–विसंगतिलाई हटाएर जाने र संविधान संशोधन गर्नुपर्ने दायित्व पनि यहाँहरूसामु रहेको छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको भोट पनि रास्वपाले पाएको बताए। उनले बालेनले राजा ल्याउँछन् भन्ने आशा जनतामा रहेको उल्लेख गरे। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरे। डा. राउतले नेपालका प्रधानमन्त्री युवा हुनुका साथै ‘स्टाइलिस र ड्यासिङ’ भएको भन्दै तारिफ गरे। उनले मधेसीको छोरालाई प्रधानमन्त्री बनाएकाले रास्वपालाई धन्यवाद दिन आफू महाधिवेशनमा आएको बताए।

यस्तो छ, चुनावी तालिका 

सोमबारदेखि रास्वपाको निर्वाचन प्रक्रिया सुरु हुनेछ। पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको चुनाव हुनेछ। सभापतिका निकटतम प्रतिद्वन्द्वीले पनि १० प्रतिशतभन्दा बढी मत ल्याएमा स्वतः केन्द्रीय सदस्य हुनेछन्।

दोस्रो चरणमा विजयी केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीका लागि निर्वाचन हुनेछ। विधान संशोधनपछि रास्वपाको केन्द्रीय समितिको आकार १५१ सदस्य र पदाधिकारी संख्या १९ पुगेको छ। ७ प्रदेशका सभापतिहरू पदेन केन्द्रीय सदस्य हुनेछन्। यसरी जम्मा केन्द्रीय समितिको संख्या १५८ जनाको हुनेछ, जसमा वरिष्ठ नेतासहित ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने छन्। एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री पनि सभापतिले मनोनित गर्ने व्यवस्था मिलाइएको छ।

बालेनसहित समायोजन भएका आकांक्षीहरूलाई समेट्नका लागि यो संशोधन गरिएको हो। उपसभापति र महामन्त्री एक–एक जना मनोनीत हुने निश्चित छ। उपसभापतिमा सुनील लम्साल र महामन्त्रीमा भूपदेव शाहको सम्भावना छ।

अब सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री र ९९ जना केन्द्रीय सदस्यको मात्र चुनाव हुनेछ। बाँकी पदहरूमा सभापतिले मनोनीत गर्नेछन्। पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्य तथा दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीको मात्रै निर्वाचन हुनेछ।

२०७९ असार ७ गते स्थापना भएको रास्वपाले चार वर्षमा पहिलोपटक महाधिवेशन गरेको हो। स्थापनाको चार महिनामै भएको २०७९ सालको निर्वाचनमा यसले २० सिट जितेको थाल्यो। पछिल्लो निर्वाचनमा १ सय ८२ सिट ल्याएर यो मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी भएको छ। महाधिवेशनमा ४ हजार २ सय ११ प्रतिनिधि सहभागी छन्।

रास्वपाले सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चयन गरेको हो। प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि रास्वपाले चुनावको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।

वरिष्ठ नेताको चुनाव नहुने
रास्वपाले वरिष्ठ नेता पदमा निर्वाचन नगर्ने भएको छ। नयाँ विधानमा वरिष्ठ नेताको पद सिर्जना गरिएको छ र वालेन्द्र शाहको समूह पार्टीमा समाहित भएपछि विशेषतः उनकै लागि यो पद सिर्जना गरिएको हो। त्यसै कारण पनि विधानमा यो पदमा निर्वाचन नहुने व्यवस्था गरिएको छ, जसलाई महाधिवेशनले अनुमोदन गर्नेछ।

चुनावका बेला बालेन समाहित हुँदा विधानमा वरिष्ठ नेता पद नभए पनि महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो।

वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने भए पनि यो पदमा चुनाव भने नहुने पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए। वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि उनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन।

साभारःअन्नपुर्ण पाेष्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *