फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० को फराकिलो जित निकालेको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ।
खेलको १०औँ मिनेटमा लामिन यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै उनी विश्वकपको इतिहासमा गोल गर्ने आठौँ कान्छो (१८ वर्ष ३४३ दिन) खेलाडी बनेका छन्। त्यसपछि २१औँ र २४औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता ३-० मा पुर्याए। ४९औँ मिनेटमा साउदीका हसन अल्ताम्बक्तिबाट आत्मघाती गोल भएपछि स्पेन ४-० ले विजयी भयो।
जितपछि स्पेनका फरवार्ड लामिन यामालले भने, ‘हामीले पहिलो हाफ खेलेर आराम गर्ने योजना बनाएका थियौँ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीलाई मद्दत गर्नु थियो। पहिलो खेल हाम्रो स्तरको थिएन। तर अब हामी लयमा फर्किएका छौँ। ३-० को अग्रताले मलाई आराम गर्न मद्दत गर्यो, यो एकदम उत्तम रह्यो। जित्नुपर्ने खेल बराबरी हुँदा निकै बिझाउँछ।’
उनले थपे, ‘यसले हामीलाई धेरै सोच्न बाध्य बनायो र आजको खेलमा सोचेजस्तै तयारी गर्न मद्दत गर्यो। विश्वकप खेल्ने मेरो सपना थियो, र पहिलो पटक सुरुवाती ११ मा खेल्दा नै गोल गर्न सक्नु एउटा सपना जस्तै हो। मैले अघिल्लो विश्वकप कक्षाकोठामा बसेर हेरेको थिएँ, त्यसैले अहिले आमा र परिवारको अगाडि गोल गर्न पाउनु मेरा लागि सपनाको कुरा हो।’
यता, साउदी अरेबियाका प्रशिक्षक जर्जिओस डोनिसले भने, ‘हामी पेनाल्टी क्षेत्र वरपर स्पेनलाई रोक्न सफल भएनौँ। हामीले धेरै गल्ती गर्यौँ। खेल राम्रो नहुँदा र छिटो-छिटो गोल खाँदा खेलाडी असुरक्षित महसुस गर्छन्। हामीले टोलीलाई शान्त पार्ने प्रयास गर्यौँ तर दबाबमा पर्यौँ।’
उनका अनुसार ठूला प्रतियोगितामा यस्तो हुनु सामान्य हो। यामाल जस्ता व्यक्तिगत खुबी र वान-भर्सेस-वान क्षमता भएका खेलाडी मैदानमा हुँदा फरक पर्छ। यामालले स्पेनका लागि यस्तो प्रदर्शन गरिरहन्छन् र फिटनेस सुधार्दै जाँदा उनी अझ बढी प्रभावकारी हुने उनको दाबी छ।
जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। साउदी अरेबियालाई भने प्रतियोगितामा कायम रहन शनिबार केप भर्डे विरुद्धको खेल जित्नुपर्ने दबाब छ।
