अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी गरेका छन् । यो सहमति दक्षिणी लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणपछि आएको हो, जसमा ४७ जनाको मृत्यु भएको बताइएको छ ।
युद्धविरामको घोषणा हुनु अघि भएका झडपहरूमा हिज्बुल्लाहले लेबनानभित्र चार जना इजरायली सैनिकलाई मार्न सफल भएको जनाएको थियो । यी घटनाले अमेरिका–इरान युद्ध अन्त्य गर्न गरिएको सम्झौतामा असर पर्ने चिन्ता बढाएको थियो । इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरेको छ। तर पछि सेनाका प्रवक्ताले ‘तत्काल खतराहरू हटाउने कार्य जारी रहने’ बताएका छन् । हिज्बुल्लाहले औपचारिक रूपमा युद्धविरामको पुष्टि नगरे पनि उसका महासचिव शेख नइम कासिमले भने, ‘हिज्बुल्लाहलाई समाप्त गर्ने योजना असफल भएको छ ।’
युद्धविरामपछि पनि हवाई आक्रमण
लेबनानको नबातियेह शहरका उद्धारकर्मीहरूका अनुसार स्थानीय समय अनुसार साँझ ४ बजे युद्धविराम लागू भएपछि पनि कम्तीमा १२ वटा हवाई आक्रमण भएका छन् । यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरेको सम्झौताको भविष्यबारे प्रश्न उठाएको छ । सम्झौतामा अमेरिका–इरान युद्धविरामसँगै लेबनानमा पनि युद्धविरामको व्यवस्था गरिएको थियो । तर जमिनमा अवस्था त्यसअनुसार देखिएको छैन । इरानले ट्रम्पमाथि इजरायललाई नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । ट्रम्प स्वयंले पनि आफ्ना सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन तेहन्याहूमाथि नागरिकको अनावश्यक हत्या गरेको आरोप लगाएका छन् ।इजरायलको कडा प्रतिक्रिया
इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले चार सैनिकको मृत्युबारे प्रतिक्रिया दिँदै भने, ‘लेबनान जल्नु पर्छ । प्रत्येक इजरायली आमाको आँशुका बदलामा एक हजार लेबनानी आमाहरू रुनुपर्छ ।’ यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायल ‘स्थायी युद्ध चाहने’ पक्ष भएको आरोप लगाए । उनले सम्झौताको कुनै पनि उल्लंघनको जिम्मेवारी अमेरिकामाथि पनि जाने चेतावनी दिए ।
दुवै पक्षमा दबाब
प्रधानमन्त्री नेतन्याहूमाथि हिज्बुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्न आन्तरिक दबाब छ । अर्कोतर्फ, इरान समर्थित हिज्बुल्लाहले दक्षिणी लेबनानबाट इजरायली सेना नहटेसम्म आक्रमण जारी राख्ने जनाएको छ । युद्धविराम घोषणा भएपछि इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले भने, ‘हामी तत्काल खतराहरू हटाउने, हिज्बुल्लाहका उल्लंघनको जवाफ दिने र आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्ने काम जारी राख्नेछौं ।’
हिज्बुल्लाहका नेता नइम कासिमले पनि प्रतिक्रिया दिँदै भने, ‘हिज्बुल्लाहलाई समाप्त गर्ने योजना असफल भयो र इजरायलले हाम्रो भूमिको अन्तिम इन्चसम्म छोड्नु पर्नेछ ।’
ठूलो मानवीय क्षति
हिज्बुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि घात लगाएर आक्रमण गरेको, तीनवटा ट्यांक निर्देशित मिसाइलबाट नष्ट गरेको तथा रकेट र तोप आक्रमण गरेको दाबी गरेको छ । यस क्रममा एक बटालियन कमाण्डरसहित चार इजरायली सैनिक मारिएका थिए । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो इजरायली हवाई आक्रमणमा ४७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन् ।
सन् २०२५ मा सुरु भएको पछिल्लो द्वन्द्वयता लेबनानमा ३,९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ११,६०० भन्दा बढी घाइते भएका छन् । करिब १० लाख मानिस अझै विस्थापित अवस्थामा रहेका छन् र दक्षिणका दर्जनौँ बस्तीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
