१८ वर्ष ३ महिना भुटानी जेलमा बिताएपछि चतुरमान तामाङ (४२) र हस्तबहादुर राई (४४) ले सोचेका थिए, ‘अब घर फर्किने दिन आयो ।’ उनीहरूले सोचेको घर थियो, नेपालको शरणार्थी शिविर ।
१८ जेठमा भुटानको छाम्गाङ केन्द्रीय जेलको ढोका खुलेसँगै उनीहरूले लामो सास फेरे । रिहापछि भुटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत–भुटान सीमावर्ती जयगाउँमा पुर्यायो । उनीहरूसँग साथमा थिए एक/एक थान टीभी र केही थान झोलाझ्याम्टा ।
बिदाइका बेला चेतावनीको शैलीमा भनियो, ‘अब सोझै नेपाल जानू, फेरि यता फर्कियौ भने जेलमै कोचिन्छौ ।’ दुवैले ‘हुन्छ’ भन्ने संकेतमा टाउको हल्लाए र अन्तर्राष्ट्रिय गेट पार गर्दै जयगाउँ बजारतिर लागे । जेल प्रशासनले उनीहरूलाई ३०/३० हजार भारु बाटो खर्चसमेत दियो । तर, रिहा गरिएको कुनै आधिकारिक प्रमाणपत्र भने दिएन । यही एउटा कागजको अभावले उनीहरूलाई यतिबेला ‘देश खोज्दै’ भौंतारिन बाध्य पारेको छ ।
‘भुटानको जेलबाट रिहा भएको प्रमाण भए उनीहरूलाई बुझ्न सहज हुने थियो,’ बेलडाँगी शरणार्थी शिविरका सचिव सञ्चहाङ सुब्बाले भने, ‘कुनै प्रमाणबिनाको मान्छेलाई के आधारमा बुझ्ने ?’
१९ जेठमा उनीहरू नेपाल प्रवेश गर्न भारतको पानीट्यांकी नाकामा आइपुगे । दिनभरि सीमामा बसे । तर, पहिचान खुल्ने कुनै कागजात नभएकाले नेपाल प्रवेश गर्न पाएनन् । मधुमेहका बिरामी चतुरमानको अस्पतालको प्रेस्क्रिप्सनबाहेक उनीहरूसँग कुनै आधार थिएन । अन्ततः उनीहरू अघिल्लो दिन आएको जयगाउँतिरै फर्किए । ‘शिविर सचिवले जेलबाट छुटेको कागज चाहिन्छ भनेपछि फर्किनुपर्यो,’ हस्तबहादुरले सुनाए ।
अहिले उनीहरू जयगाउँका एक नेपालीभाषी श्रमिकको घरमा आश्रित छन् । अटो रिक्सा चढेर जाने क्रममा भेटिएका ती नेपालीभाषीले उनीहरूको पीडा सुनेपछि आश्रय दिएको बताए । कान्तिपुरसँगको फोन ती श्रमिकले भने, ‘नेपाली दाजुभाइको नाताले आश्रय दिएर राखेको छु । उनीहरूलाई राखेको थाहा पाए मलाई पनि समस्या हुन सक्छ ।’
उनीहरूलाई जतिसक्दो चाँडो नेपाल फर्कने वातावरण बनाइदिनसमेत उनले आग्रह गरे । जयगाउँ पुगेपछि चतुरमानलाई एक पटक भुटानतिरै छिरौं कि भन्ने पनि लाग्यो । तर, भित्री मन मानेन । सुनाए, ‘भुटानतिरै भागेर जाउँ भन्ने पनि लाग्यो तर फर्किएर नआउनु भनेकाले डर पनि लाग्यो ।’
शिविर सचिव सुब्बाले जेलबाट छुटेको प्रमाणपत्र ल्याउन भनेपछि उनीहरू पुनः त्यसैको खोजीमा छन् । तर, कसलाई भेट्ने, कहाँ जाने र कसरी प्रमाण जुटाउने भन्ने अन्योलमा छन् । ‘कागज माग्न जाँदा फेरि पक्राउ परिने डर छ,’ हस्तबहादुरले भने, ‘कोसँग माग्ने, कहाँ जाने केही थाहा छैन ।’
मानवअधिकारकर्मी डा. गोपालकृष्ण शिवाकोटीका अनुसार भारतमा अलपत्र परेका यी दुई राजबन्दीको नाम शरणार्थी शिविरको अभिलेखमा फेला परिसकेको छ । तसर्थ उनीहरूलाई नेपालस्थित शिविरसम्म ल्याउन संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) र अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) सँग पहल सुरु भइसकेको छ । ‘यी दुई संस्थाले उनीहरूको पहिचान प्रमाणीकरण गरेपछि शिविरसम्म आउने बाटो खुल्न सक्छ,’ शिवाकोटीले भने ।
चतुरमान र हस्तबहादुर सन् १९९२ तिर आफ्ना परिवारसँगै भुटानबाट विस्थापित भई नेपाल पस्दा अबोध बालक थिए । झापाको शरणार्थी शिविरमै उनीहरू हुर्किए । तर, सन् २००८ तिर आफ्नो पुरानो थातथलो पछ्याउँदै भुटान पस्ने प्रयास गर्दा सीमा क्षेत्रबाटै पक्राउ परे । त्यसयता उनीहरूको जीवन जेलका चार भित्ताभित्र सीमित रह्यो ।
यसबीच शरणार्थीहरूले स्वदेश फिर्तीको माग गर्दै पटक–पटक आन्दोलन गरे । मेची पुलमा धर्ना र प्रदर्शन भए । तर, भारतले भुटान जाने बाटो कहिल्यै खुला गरेन । बरु शरणार्थीलाई तेस्रो देश पुनर्वास सुरु गरियो । अहिले शिविरमा केही हजार शरणार्थी मात्र बाँकी छन् । बूढापाका र अशक्त धेरै छन् । अधिकांश अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वेलगायत तेस्रो मुलुक पुनर्वासमा गए । चतुरमान र हस्तबहादुरका आफन्त पनि शिविर छाडेर सात समुद्रपारि पुगे ।
जेलबाट छुटेपछि कहाँ जाने ? शिविरबाहेक उनीहरूको फर्कने गन्तव्य नै भएन । तर, आफू हुर्किएको ठाउँ एक पटक फेरि टेक्ने इच्छा पनि अधुरै रह्यो । सीमा पार गर्न अहिले परिचयपत्र अनिवार्य छ । भारतले कोभिडपछि सीमामा ‘आईडी भेरिफिकेसन’ अनिवार्य गरेको छ । जसको प्रत्यक्ष असरमा उनीहरू पनि परे । ‘सीमामा कडाइ नभएको भए सुटुक्क शिविर पुगिसक्थ्यौं,’ चतुरमानले सुनाए, ‘पहिला थिएन, अहिले वारपार गर्न गाह्रो छ।’
उनीहरूसँग कुनै देशले स्वीकार गर्ने कागजात छैन । न भुटानी प्रमाण, न नेपाली नागरिकता, न भारतीय परिचयपत्र । साथमा छ त भुटानी अस्पतालको एउटा बिरामी पुर्जा र जेलमा बिताएका १८ वर्षका पीडादायी सम्झना मात्र । ‘कति बेला नेपाल टेकौं र शान्तिको सास फेरौं भन्ने लागेको थियो,’ हस्तबहादुरले भने, ‘तर नेपाल टेक्न त के परबाट हेर्न पनि पाइएन ।’ उनीहरू अन्योलमा छन्– ‘अब कहाँ जाने ? हाम्रो देश आखिर कुन हो ?’
साभारःकान्तिपुर दैनिक ।
