अमेरिका र इरानबीच सम्भावित नयाँ समझदारीको मस्यौदामा तेहरानको परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा आंशिक राहत, ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन तथा इरानको रोक्का सम्पत्ति फुकुवा गर्ने प्रस्ताव समेटिएको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानका एक वरिष्ठ अधिकारीले दुई देशबीच तयार भएको भनिएको समझदारीपत्र (एमओयू) को अन्तिम मस्यौदामा आर्थिक, सुरक्षा र आणविक कार्यक्रमसँग सम्बन्धित प्रमुख विषय समावेश गरिएको बताएका छन्। यद्यपि, सम्झौता अझै अन्तिम रूपमा स्वीकृत भइसकेको छैन र थप वार्तापछि मात्रै अन्तिम सहमति हुने जनाइएको छ।
प्रस्तावित समझदारीअनुसार इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई तत्काल सबै व्यापारिक जहाजका लागि खुला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी चरणबद्ध रूपमा हटाउने प्रस्ताव गरिएको छ। हस्ताक्षरपछि ३० दिनभित्र प्रक्रिया पूरा गर्ने प्रारम्भिक समझदारी रहेको बताइएको छ।
विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज खुल्दा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा दबाब कम हुन सक्ने विश्लेषण गरिएको छ।
आर्थिक पक्षमा अन्तिम सहमति नभएसम्म अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध नलगाउने तथा सीमित अवधिका लागि तेल निर्यातमा छुट दिने प्रस्ताव रहेको बताइएको छ। साथै, इरानको रोक्का गरिएको करिब २५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति विभिन्न वित्तीय संयन्त्रमार्फत उपलब्ध गराउने विषय पनि मस्यौदामा समेटिएको दाबी गरिएको छ।
आणविक विषयमा इरानले परमाणु हतियार नबनाउने र हालको परमाणु गतिविधिको स्तर यथावत् राख्ने प्रस्तावमा सहमति जनाउने उल्लेख गरिएको छ। युरेनियम संवर्धन विस्तार नगर्ने र उच्च संवर्धित युरेनियमको व्यवस्थापनबारे ६० दिनभित्र थप प्राविधिक वार्ता गर्ने प्रारम्भिक समझदारी रहेको जनाइएको छ।
यद्यपि, अमेरिकी र इरानी पक्षबाट सार्वजनिक अभिव्यक्तिमा अझै केही अन्तर देखिएको छ। तेहरानले सम्झौता अन्तिम नभइसकेको संकेत दिएको छ भने वासिङ्टनले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जनाएको छ।
