अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा  राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ। आज बिहीबार रातीदेखि सुरु हुन लागेको ‘फिफा विश्वकप फुटबल २०२६’ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ।

आजै बिहीबार एक सूचना जारी गर्दै प्रशासनले रातको समयमा ठुलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पार्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न सचेत गराएको छ।प्रशासनका अनुसार खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक सङ्घ-संस्थाले निर्धारित ढाँचामा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

प्राप्त निवेदनमाथि संस्था रहेको स्थान र सुरक्षा संवेदनशीलताको विश्लेषण गरी मात्र अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए।

सूचनाको अवज्ञा गरी कसैले अनुमतिबेगर रातको समयमा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल वा गैर कानुनी क्रियाकलाप गरेको पाइएमा तत्काल प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *