फैलिद्वाे बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी निकायले बर्डफ्लु नियन्त्रणमा अधिकतम् प्रयास गरिरहेको उल्लेख गरे पनि ठुला फार्ममा बर्डफ्लुको सङ्क्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा सङ्क्रमण १० जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठुलो हुने अनुमान गरिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआइएस) र ¥यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्याङ्क अनुसार हालसम्म ५६ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएको छ । सङ्क्रमण नियन्त्रणका लागि देशभर पाँच लाख ५३ हजार ६५० वटा पन्छी, १० लाख आठ हजार ९२८ वटा अन्डा र दुई लाख पाँच हजार ९७५ किलोग्राम दाना नष्ट गरिएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सङ्क्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षासम्बन्धी विशेष उपाय लागु गरिएको छ । उनले सङ्क्रमणको प्रत्यक्ष आर्थिक क्षति ५० करोड रुपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अर्बौं रुपियाँसम्म पुग्न सक्ने बताए । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीका अनुसार बर्डफ्लु पुष्टि भएको फार्ममा कम्तीमा ४५ दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन । यसले कुखुरा तथा अन्डा उत्पादनको सम्पूर्ण चक्र अवरुद्ध बनाउँछ । “प्रत्यक्ष क्षति देखिएकोभन्दा धेरै ठुलो असर रोजगारी, चल्ला उत्पादन, दाना उद्योग र स्वरोजगार किसानमा परेको छ,” उनले भने ।

पोल्ट्री उद्योगसँग जोडिएका हजारौँ किसान, श्रमिक र व्यवसायी सङ्क्रमणका कारण प्रभावित भएका छन् । उत्पादन रोकिँदा बजार आपूर्ति शृङ्खलासमेत प्रभावित हुने देखिएको छ । बर्डफ्लुबाट सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी बनेको छ । त्यहाँ २३ वटा फार्ममा सङ्क्रमण पुष्टि हुँदा दुई लाख ८५ हजार ५६४ वटा पन्छी र चार लाख २७ हजार ५८० वटा अन्डा नष्ट गरिएको छ ।

त्यसपछि मोरङमा ११ फार्म, काठमाडौँमा आठ, झापामा चार, ललितपुरमा तीन, भक्तपुरमा दुई तथा नवलपरासीपश्चिम, बारा र महोत्तरीमा एक/एक फार्म प्रभावित भएका छन् । पछिल्लो समय चितवनको एक ठुलो व्यावसायिक फार्ममा पनि सङ्क्रमण पुष्टि भएपछि त्यहाँको पोल्ट्री उद्योगले ठुलो क्षति बेहोर्नु परेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र ३९ हजार ४८१ वटा पन्छी र ६३ हजार ८५४ वटा अन्डा नष्ट गरिएको छ । अधिकांश प्रकोप कोशी प्रदेशमा केन्द्रित रहे पनि पछिल्लो समय उपत्यकामा सङ्क्रमित फार्मको सङ्ख्या बढ्दै जानुले चिन्ता थपेको छ ।

पशु सेवा विभागले सङ्क्रमण फैलिनुका प्रमुख कारण पहिचान गरेको छ । फार्मनजिक वन क्षेत्र वा अग्ला रुख हुनु, जलाशय आसपास फार्म सञ्चालन हुनु, जैविक सुरक्षा मापदण्डको पालना कमजोर, सवारीसाधन तथा आगन्तुकको अनियन्त्रित प्रवेश, अन्डा बोक्ने क्रेटको उचित कीटाणुनाशक प्रयोग नहुनु तथा एउटै व्यक्तिले जीवित र मृत पन्छीको व्यवस्थापन गर्नु सङ्क्रमण फैलाउने मुख्य कारणका रूपमा देखिएका छन् ।

विभागका अनुसार सङ्क्रमण नियन्त्रणका लागि नियमित निगरानी, सरसफाइ, कीटाणुनाशक छर्कने कार्य तथा सङ्क्रमित क्षेत्रको नियन्त्रण बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार निरन्तर सञ्चालन भइरहेको छ । सरकारले सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आएपछि प्रभावित किसान र व्यवसायीलाई राहत उपलब्ध गराउने तयारी गरेको छ ।

बर्डफ्लु नियन्त्रणमा आएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बैठक बसेर क्षतिको मूल्याङ्कन गरिने छ । त्यसका आधारमा किसान तथा व्यवसायीलाई भएको क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको पशु सेवा विभागले जनाएको छ । पोल्ट्री क्षेत्र नेपालको कृषि अर्थतन्त्रको महत्वपूर्ण आधारमध्ये एक मानिन्छ । सङ्क्रमण नियन्त्रण प्रभावकारी रूपमा हुन नसकेमा उत्पादन, रोजगारी र खाद्य सुरक्षामै दीर्घकालीन असर पर्ने सरोकारवालाहरूले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *