नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले सन् २०२६ को मनसुन मौसमलाई ध्यानमा राख्दै विशेष हवाई सुरक्षा निर्देशन (मनसुन सर्कुलर २०२६) जारी गरेको छ। प्राधिकरणका महानिर्देशकबाट २० जेठमा स्वीकृत भएको यो सर्कुलर असार १ गतेदेखि लागू हुनेछ । यसलाई सबै वायुसेवा कम्पनी र उड्डयनकर्मीका लागि अनिवार्य गरिएको छ।
जारी सर्कुलरका अनुसार, यो अवधिमा उडान अघि पाइलट र डिस्प्याचरले विमानको प्राविधिक अवस्था र न्यूनतम उपकरण सूची (एमईएल) अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ ।उडान मार्ग, गन्तव्य र वैकल्पिक विमानस्थलको मौसमबारे पूर्ण जानकारी लिनुपर्नेछ। हेलिकोप्टरले पहाडी क्षेत्र र खोँचहरूको मौसम तथा सुरक्षित अवतरणका वैकल्पिक स्थान पहिचान गर्नुपर्नेछ। मनसुन अवधिभर नेपालमा हुने सबै हेलिकप्टर उडान दुई जना पाइलट (डुअल पाइलट अपरेसन) बाट मात्र सञ्चालन गर्नुपर्नेछ।तर मेडिकल उद्धार (स्ट्रेचर केस) उडानमा यो नियम लागू हुनेछैन।
मनसुन समयमा विमानका महत्वपूर्ण प्रणालीहरू जस्तै एन्टी–स्किड, विन्डशिल्ड वाइपर, वेदर राडार, स्ल्याट्स–फ्ल्याप्स, इन्जिन रिभर्स थ्रस्ट र ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम (जीपीडब्लुएस) पूर्ण रूपमा कार्यशील हुनुपर्नेछ। यी बिग्रिएको अवस्थामा उडान अनुमति नदिने प्राधिकरणले जनाएको छ ।
खराब मौसम वा शक्तिशाली मेघगर्जनयुक्त बादल देखिएमा विमान कम्तीमा २० नटिकल माइल टाढैबाट मोड्नुपर्नेछ।पाइलटलाई आवश्यकता अनुसार उडान फर्काउने (एयर टर्न–ब्याक) वा अन्य विमानस्थलमा डाइभर्ट गर्ने अधिकार दिइएको छ।
अवतरणका क्रममा भिजुअल एप्रोच छोडेर उपकरण आधारित एप्रोच अपनाउनुपर्नेछ। उडान स्थिर नभए तुरुन्त गो–अराउन्ड गर्नुपर्नेछ।
पाइलटको मानसिक र शारीरिक थकान (फ्टिग) लाई ध्यानमा राखेर मात्र रात्रिकालीन उडान तालिका मिलाउनुपर्ने भनिएको छ । उडानका क्रममा मौसम पूर्वानुमानभन्दा फरक वा खराब देखिएमा पाइलटले तुरुन्त पाइलट रिपोर्ट मार्फत एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी दिनुपर्नेछ।
यो सर्कुलरको मुख्य उद्देश्य जोखिमपूर्ण मौसममा मानवीय त्रुटि कम गर्नु रहेको सहप्रवक्ता भुलले बताए । नेपालमा भएका धेरै हवाई दुर्घटना खराब मौसममा उडान जारी राख्ने वा रनवेमा चिप्लिने कारण भएका छन्। यो नियमले यात्रु र विमानको सुरक्षालाई प्राथमिकता दिन कानुनी र व्यावहारिक आधार प्रदान गर्ने प्राधिकरणले अपेक्षा गरेको छ।
नेपालमा मनसुन र पूर्व–मनसुन समयमा हवाई उडान धेरै चुनौतीपूर्ण हुन्छ। यस समयमा भारी वर्षा, चट्याङ, बादलभित्र विमान प्रवेश गर्ने अवस्था (क्लाउड पेनेट्रेसन), तीव्र हावा परिवर्तन (विन्डसियर), कम दृश्यता, र उचाइमा हिउँ जम्ने (आइसिङ) जस्ता समस्याले उडान जोखिम बढाउँछन्। विशेषगरी हेलिकोप्टर उडानमा खोँचमा बादल लाग्ने, पहाड ढाकिने र अचानक दृश्यता घट्दा पाइलटले दिशा गुमाउने तथा विमान नियन्त्रणमै पहाडमा ठोक्किने (सिफिट) दुर्घटनाको जोखिम हुन्छ।
यी सबै जोखिम घटाउन सुरक्षित निर्णय क्षमता (एरोनटिकल डिसिजन मेकिङ) सुधार गर्ने उद्देश्यले यो सर्कुलर ल्याइएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
यो नियम सबै वायुसेवा कम्पनीहरू (नेपाल एयरलाइन्स,हिमालय, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयर, सौर्य, समिट एयर तथा हेलिकप्टर कम्पनीहरू (फिस्टेल, माउन्टेन, प्रभु, अल्टिच्युड, हेली एभरेस्ट, सिम्रिक, मुस्ताङ, कैलास, बेसक्याम्प, अन्नपुर्ण र एयर डाइनेस्टीले अनिवार्य पालना गर्नु पर्ने छ । त्यस्तै यी कम्पनीहरुका पाइलट तथा फ्लाइट डिस्प्याचर, एयर ट्राफिक कन्ट्रोलर र अपरेसन कर्मचारीहरू अनिवार्य पालना गर्नु पर्नेछ ।
यो सर्कुलर जल तथा मौसम विज्ञान विभागले मनसुन समाप्त भएको घोषणा नगरेसम्म लागू रहनेछ। साथै प्राधिकरणले चालक दलका लागि मनसुन सुरक्षा, डाइभर्सन ह्यान्डलिङ र थ्रेट म्यानेजमेन्ट तालिम अनिवार्य गर्न पनि निर्देशन दिएको छ।
