जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समयमा हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी बीपी राजमार्गमा हुँदै आएको सवारी आवागमनको समय बढाएको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुक्रबारदेखि लागू हुने गरी राजमार्गमा सवारी सञ्चालन हुने समय बढाइएको बताउदै भने जिल्ला सुरक्षा समिति सिन्धुलीसँग समन्वय गरेर अर्को सूचना जारी नभएसम्मका लागि भकुन्डेदेखि खुर्कोट सडक खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको बताए ।
बैठकले मौसमको अवस्था र वर्षाका कारण रोसी खोलामा आउन सक्ने बाढी समेतको अवस्थालाई मध्यनजर गरी आवश्यकता अनुसार सो सडक खण्डमा सवारीसाधन आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णयलाई भने यथावत् राखेको छ।
गत वैशाख २१ गते रोसी खोलामा आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत घुमाउनेमा पाँच वटा माइक्रो र इभी गाडी तथा त्यसमा सवार ८९ जना यात्रु बाढीमा फसेर उद्धार गर्न कठिनाइ भएपछि जिल्ला सुरक्षा समितिको बैठकले रात्रिकालीन यातायातमा रोक लगाएको थियो।
रोसी खोलाभित्र बनाइएको अस्थायी डाइभर्सनबाट रातको समयमा यातायातका साधन सञ्चालन गर्दा हुन सक्ने मानवीय सुरक्षा जोखिमलाई मध्यनजर गरी यसअघि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सवारी सञ्चालन बन्द गरिएको थियो।
विगतमा २०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडकमा पूर्ण रूपमा क्षति पुर्याएको थियो। बाढीबाट क्षति पुगेको उक्त सडकको काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा हाल पुनर्निर्माणको कार्य भइरहेको छ।
