खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिन्टारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ । सुनकोशीले मोटरेबल पुल बगाएपछि नयाँ पुल निर्माण नभएकाले सामान ओसारपसारका लागि घिर्नी जडान गरी सञ्चालनमा ल्याइएको हो ।
फोक्सिन्टारको मोटरेबल पुल बाढीले बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । कोशीमा पानीको बहाव बढेसँगै जेठ ३ गते बेलिब्रिज हटाइएपछि सामान वारपार गर्न जेठ १५ गतेदेखि घिर्नी सञ्चालनमा ल्याइएको हो ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत पर्ने दिक्तेल–फोक्सिन्टार–गाईघाट सडक पूर्वी सहर जाने–आउने छोटो दूरीको मार्ग हो । सोही सडकमा पर्ने खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिन्टारमा निर्माण गरिएको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल २०८१ असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो ।
बाढीले पुल बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गरिँदै आएको छ । बर्खामा बेलिब्रिज नहुँदा निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु पूर्वी तराईबाट खोटाङ भित्र्याउन सुनकोशीमा घिर्नी जडान गरिएको हो ।
विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडक आयोजनाका लागि आवश्यक सामग्री ढुवानी गर्न सुनकोशीको फोक्सिन्टारमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले बताए । रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी खण्डको १५ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । उक्त आयोजनाका लागि आवश्यक सामग्री तार्न घिर्नी सञ्चालन गरिएको उनको भनाइ छ ।
अघिल्लो वर्ष बर्खामा जडान गरिएको घिर्नी बेलिब्रिज जडान भएपछि हटाइएको थियो । जेठ ३ गते बेलिब्रिज निकालिएपछि पुनः जेठ १५ गतेदेखि घिर्नी सञ्चालनमा ल्याइएको रेग्मीले बताए ।
रसुवा–पानधारे सडक आयोजनाका सामग्री ढुवानीका लागि जडान गरिएको घिर्नीबाट अन्य व्यवसायी तथा सर्वसाधारणले पनि सामान तार्ने गरेका छन् । घिर्नी सञ्चालनका लागि दुई जना कामदार राखिएको छ । उनीहरूको ज्याला तथा पेट्रोल खर्च उठ्ने गरी शुल्क लिएर अन्य व्यवसायीको सामानसमेत तारिदिने गरिएको रेग्मीले बताए ।
घिर्नीमार्फत व्यवसायीले इन्धन, जाली, सिमेन्ट, रड लगायतका सामग्री खोटाङ भित्र्याउने गरेका छन् भने सर्वसाधारणले दैनिक उपभोग्य वस्तु आयात गर्ने गरेका छन् । खोटाङबाट भने हाल विशेषगरी काठ निकासी भइरहेको छ ।
फोक्सिन्टारको बेलिब्रिज हटाइएपछि दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, रावाबेँसी र हलेसी क्षेत्रका सवारी साधन घुर्मी–कटारीको लामो दूरीको सडक प्रयोग गर्न बाध्य भएको खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङले बताए । दिप्रुङ चुइचुम्मा र खोटेहाङ क्षेत्रका सवारी साधन भने रसुवाबाट पल्टाएर सञ्चालन भइरहेका छन् । रसुवाको झोलुङ्गे पुलमार्फत मोटरसाइकल भने सिधै वारपार गरिरहेका छन् ।
फोक्सिन्टारमा पुनः पुल निर्माणका लागि बजेट सुनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा राजनीतिककर्मीले दाबी गरे पनि हालसम्म सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सङ्घीय सरकारले फोक्सिन्टार पुल निर्माणका लागि बजेट विनियोजन गर्नेमा खोटाङवासी आशावादी छन् ।
हालसम्म आगामी आर्थिक वर्षका योजनाको विस्तृत विवरण सार्वजनिक नभएकाले पुल निर्माणका लागि बजेट छुट्याइएको विषय एकिन हुन सकेको छैन । फोक्सिन्टारमा पुल नहुँदा निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु कटारी–घुर्मी मार्ग हुँदै ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढेको र वस्तु महँगो हुने गरेको खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्य बताउछन् ।
