जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज मङ्गलबार राति देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बुधबार र बिहीबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
भोलि र पर्सी मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ । यसैगरी, हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
