म्यानमारको उत्तर-पूर्वी क्षेत्रमा आइतबार खानीका लागि राखिएको विस्फोटक पदार्थ भण्डारण गरिएको एक घरमा शक्तिशाली विस्फोट हुँदा ५५ जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन्। उद्धारकर्मी र स्थानीय सञ्चार माध्यमहरूका अनुसार यो घटना नामखाम टाउनसिपको काउङतुप गाउँमा भएको हो।
यो क्षेत्र चीनको सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा अवस्थित छ, जहाँ जातीय सशस्त्र समूह ‘तआङ नेशनल लिबरेसन आर्मी’को नियन्त्रण रहेको छ। यस समूहको म्यानमारको सैन्य सरकार (जुन्ता) सँग समय-समयमा भिडन्त हुँदै आएको छ।
एक उद्धारकर्मीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसका कारण वरपरका १०० भन्दा बढी घरहरूमा क्षति पुगेको छ। स्थानीय सञ्चार माध्यमहरूले मृतकको सङ्ख्या ५० देखि ५५ को बीचमा रहेको जनाएका छन्। सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा विस्फोटपछि आकाशिएको धुलोको मुस्लो, ध्वस्त भएका भवन र भग्नावशेषहरू देखिएका छन्।
सन् २०२१ को फेब्रुअरीमा सेनाले लोकतान्त्रिक ढङ्गले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेदेखि म्यानमार लगातार अशान्ति र द्वन्द्वको चपेटामा परेको छ। सैन्य कु पछि देशभर विरोध प्रदर्शनहरू चर्किएका थिए। पछि, धेरै विरोधी समूहहरूले सेना विरुद्ध हतियार उठाएका कारण हाल म्यानमारको ठुलो भूभाग सशस्त्र सङ्घर्षको चपेटामा परेको छ।
