वैदिक सनातन परम्परा, संस्कृत शिक्षा र अध्यात्म चेतनाका अग्रदूतका रूपमा परिचित महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजको निधन भएको छ । लामो समयदेखि अध्यात्म, धर्मप्रचार, गुरुकुल शिक्षा र वेदान्त प्रवचनमार्फत हजारौँ श्रद्धालु र विद्यार्थीलाई मार्गदर्शन गर्दै आएका उनको शनिबार साँझ बुटवल नयाँमिलस्थित आश्रममा निधन भएको हो । उनि अर्बुद रोगबाट पीडित थिए ।
२०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा जन्मिनुभएका उहाँको बाल्यकालीन नाम खेमराज गैरे थियो । सानैदेखि वैराग्य र साधनाप्रति झुकाव राख्ने उनले सांसारिक जीवनभन्दा अध्यात्मको मार्ग रोजे। पारिवारिक जीवनमा बाँध्ने प्रयास भए पनि उनको मन साधुसन्तको सान्निध्य र तपस्यामै केन्द्रित रह्यो । पछि घर छाडेर साधनायात्रामा निस्केका उनले स्वर्गद्वारी परम्पराका झ्याम्पाली महाराज, योगसिद्ध छविलाल गुरु तथा स्वामी परमानन्द सरस्वतीजस्ता महापुरुषहरूको सान्निध्य प्राप्त गरे ।
स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएपछि उनि “खिमानन्द ब्रह्मचारी”का रूपमा परिचित भए भने पछि स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यास दीक्षा ग्रहण गरी “स्वामी विवेकानन्द सरस्वती” नामले प्रसिद्ध भए ।
वृन्दावन र हरिद्वारमा रहेर उनले वेदान्त, भागवत तथा संस्कृत शास्त्रको गहिरो अध्ययन गरेका थिए । वृन्दावनमा रहँदा उनले विश्वप्रसिद्ध वेदान्ताचार्य स्वामी अखण्डानन्द सरस्वतीको सान्निध्य प्राप्त गरेका थिए । उनले धर्मप्रचारसँगै शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका थिए ।
