वन्यजन्तुको त्रासले उजाडिँदै चुरे बस्ती

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सर्लाही जिल्लाको चुरे क्षेत्रमा पर्ने ग्रामीण बस्तीहरू पछिल्लो समय तीव्र रूपमा खाली हुन थालेका छन् । शिक्षा, स्वास्थ्य, सडक, खानेपानीजस्ता आधारभूत सेवा-सुविधाको अभाव, वन्यजन्तुको बढ्दो आतंक, कृषि उत्पादनमा असुरक्षा तथा रोजगारीको कमीका कारण स्थानीयवासी आफ्नै जन्मथलो छाडेर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा बसाइँ सर्न बाध्य भएका हुन् ।

लालबन्दी नगरपालिका-१३ की धनमाया मगर गाउँको वर्तमान अवस्था सुनाउँदै भनिन् , ‘गाउँमा बस्नै गाह्रो भइसक्यो । न राम्रो सडक छ, न स्वास्थ्य सेवा, न त खेती सुरक्षित छ । जंगली जनावरले बाली सखाप पार्छन् । अब गाउँमा भविष्य देखिँदैन ।’

धनमाया मात्र होइनन्, चुरे क्षेत्रका अधिकांश स्थानीयको पीडा उस्तै छ । कुनै समय हरियाली जंगल, उब्जाउ खेतबारी र चहलपहलले भरिएका गाउँहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन् । कतिपय बस्तीमा वृद्धवृद्धा मात्रै बस्ने अवस्था सिर्जना भएको छ भने युवापुस्ता रोजगारी र सुविधाको खोजीमा सहर तथा विदेश पलायन भइरहेका छन् ।

पहिले बाक्लो बस्ती, अहिले सुनसान

स्थानीयका अनुसार विगतमा औलो रोगको डरले तराईका फाँटभन्दा पाखा–भित्तातिरका क्षेत्रमा मानिसहरूको बाक्लो बसोबास थियो । जंगलनजिकै भए पनि गाउँहरू जीवित थिए । खेतीपाती, पशुपालन र सामुदायिक जीवनले गाउँलाई चलायमान बनाएको थियो । तर, अहिले परिस्थिति उल्टिएको छ । वैदेशिक रोजगारी र सहरमुखी बसाइँसराइ बढेसँगै गाउँमा जनघनत्व घटेको छ । मानिसहरूको चहलपहल कम भएपछि जंगली जनावर मानव बस्तीमै प्रवेश गर्न थालेका छन् ।

हेमकुमारी सिञ्जाली मगरका अनुसार जंगली बँदेल, बाँदर, हरिणलगायत जनावरले खेतबारीमा लगाइएको अन्नबाली नष्ट गर्न थालेपछि किसान निराश बनेका छन् । ‘दिनरात दुःख गरेर लगाएको बाली एकै रातमा जनावरले खाइदिन्छन्’, उनि भन्छिन्भ, ‘यसरी खेती जोगाउनै नसकिने भएपछि गाउँमा बस्ने आधार कमजोर बन्दै गएको छ ।’

कृषिमा संकट, किसान विस्थापित

चुरे क्षेत्रका अधिकांश परिवारको मुख्य आयस्रोत कृषि नै हो । तर, वन्यजन्तुको आतंकका कारण किसानले उत्पादन गरेको अन्नबाली सुरक्षित राख्न कठिन हुँदै गएको छ । कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छोड्न थालेका छन् । स्थानीयहरूका अनुसार रातभर खेत कुर्नुपरे पनि बाली जोगाउन सकिँदैन ।

वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम नहुँदा किसानको मेहनत खेरजाने गरेको गुनासो उनीहरूको छ । कृषिमा असुरक्षा बढेसँगै युवापुस्ता खेतीबाट विमुख हुन थालेका छन् । उनीहरू वैदेशिक रोजगारी वा सहरकेन्द्रित रोजगारीतर्फ आकर्षित भइरहेका छन् । वैदेशिक रोजगारबाट आम्दानी गर्न सफल परिवारले बजार क्षेत्रमा घर बनाउन थालेपछि गाउँका पुराना घरहरू खाली हुँदै गएका छन् ।

आधारभूत सेवा नपुग्दा कष्टकर दैनिकी

चुरे क्षेत्रका बस्तीहरूमा सडक, स्वास्थ्य, शिक्षा, विद्युत्, सञ्चार र खानेपानी जस्ता आधारभूत सेवा-सुविधाको अवस्था अझै कमजोर छ । कतिपय गाउँमा वर्षायाममा सडक अवरुद्ध हुने भएकाले बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिन हुने गरेको स्थानीय बताउँछन् । गुणस्तरीय विद्यालयको अभावका कारण अभिभावकले आफ्ना बालबालिकालाई बजार क्षेत्रका विद्यालयमा पढाउन थालेका छन् ।

त्यसपछि परिवार नै बजार झर्ने क्रम बढेको स्थानीयको भनाइ छ । खानेपानी र विद्युत् सेवा नियमित नहुँदा ग्रामीण जनजीवन थप कष्टकर बनेको छ । सञ्चार सेवा कमजोर हुँदा सूचना पहुँचमा समेत समस्या देखिएको छ ।

स्थानीय तहको चुनौती : विकट बस्तीमा सेवा पुर्‍याउन कठिन

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) का अनुसार चुरे क्षेत्रका विकट बस्तीमा सबै सेवा–सुविधा पुर्‍याउन भौगोलिक र आर्थिक दुवै चुनौती छन् । उनले माथिल्लो भेगका नागरिकलाई व्यवस्थित रूपमा एकीकृत बस्तीमार्फत सेवा उपलब्ध गराउने योजना अघि सारिएको जानकारी दिए  । ‘सबै ठाउँमा सडक, स्वास्थ्य र शिक्षा पुर्‍याउन निकै कठिन छ’, उहाँले भन्नुभयो, ‘तर, स्थानीयको खेती एकातिर र बसोबास अर्कोतिर हुने भएकाले व्यवस्थापन सहज छैन ।’

लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले भने चुरे क्षेत्रको समस्या स्थानीय सरकारको प्रयासले मात्रै समाधान नहुने बताए । उनका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ । ‘स्थानीय सरकारले मात्र सबै समस्या समाधान गर्न सक्दैन’, उनले भने , ‘विशेषगरी शिक्षा, स्वास्थ्य, सडक, कृषि सुरक्षा र रोजगारीका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सके मात्र स्थानीयवासीलाई आफ्नै थातथलोमा टिकाउन सकिन्छ ।’

सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ को माथिल्लो भेग, लालबन्दी नगरपालिका-१३ र १४, हरिवन नगरपालिका-१ र २ तथा बागमती नगरपालिका-१ र ११ मा बसाइँसराइको प्रभाव स्पष्ट देखिन थालेको छ । कतिपय गाउँमा घरहरू वर्षौंदेखि बन्द अवस्थामा छन् । केही बस्तीमा वृद्धवृद्धा मात्र बस्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । युवाहरू विदेश वा शहरतिर गइसकेपछि गाउँको सामाजिक संरचनासमेत कमजोर बन्न थालेको छ ।

समयमै पहल नभए चुरे बस्ती रित्तिने खतरा

स्थानीयवासीका अनुसार यदि गाउँमै शिक्षा, स्वास्थ्य, सडक, कृषि सुरक्षा र रोजगारीका अवसर सिर्जना गर्न सकिएन भने निकट भविष्यमा चुरे क्षेत्रका धेरै बस्ती पूर्णरूपमा रित्तिनसक्ने खतरा बढेको छ । उनीहरू राज्यले चुरे क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कृषि उपजको उचित बजारीकरण, वन्यजन्तु नियन्त्रण, रोजगार सिर्जना तथा आधारभूत सेवा विस्तारमा प्रभावकारी योजना ल्याउनुपर्ने माग गर्छन् ।

स्थानीयको भनाइमा गाउँ जोगाउन केवल सडक मात्र पर्याप्त छैन । गाउँमा सम्मानजनक जीवनयापनको वातावरण सिर्जना गर्न सकिए मात्र चुरे क्षेत्रका बस्ती पुनः जीवित हुन सक्नेछन् ।

साभारःहिमालय टाइम्स दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *