तमोर नदीको निर्माणाधीन मोटरेवल पुल बाढीले बगायो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको मोटरेवल (मोटर गुड्ने) पुल बाढीले बगाएको छ । शुक्रबार राति भीषण वर्षासँगै तमोर नदीमा आएको बाढीले निर्माणाधीन उक्त मोटरेवल पुल बगाएको हो ।

भारतसँगको सिमान जोगवनीदेखि मोरङको विराटनगर रानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला जोड्ने त्रिदेशीय सडक मार्गको रुपमा रहेको तमोर कोरिडोरअन्तर्गत तमोर नदीमा आठ वर्षअघि मोटरेवल पुल निर्माण गर्न सुरु गरिएको थियो । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने गरी पुल निर्माण हुँदै आएको थियो ।

मोटरेवल पुल निर्माणको भौतिक प्रगति करिव ४० देखि ४५ प्रतिशत सम्पन्न भइसकेको अवस्थामा शुक्रबार राति तमोर नदीमा आएको बाढीले पुल बगाएको आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) ले जानकारी दिए  । करिव एक साता अघिदेखि ट्रस जडान धमाधम भइरहेको पुल बाढीले बगाएको अध्यक्ष पोमुले बताए  ।

अध्यक्ष पोमुका अनुसार हालसम्म जडान भएको पुलको ट्रस र निर्माणस्थलमा रहेको ट्रस लगायतका सामग्री बाढीले बगाएको छ । शनिबार बिहान बाढीले बगाएको मोटरेवल पुलको स्थलगत अनुगमन तथा निरीक्षण आफूले गरेको र नदीमा पानीको बहाब बढ्नेसँगै बाढी आउने हुदा अब आमागी मङ्सिरयता पुल निर्माणको काम गर्ने स्थिति नदेखिएको उनको भनाइ छ ।

एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २२ करोड पाँच लाख ७७ हजार ८९० रूपियाँमा उक्त मोटरेवल पुल निर्माणको काम गरिरहेको थियो । पछिल्लोपटक जेठ अन्तिम साता सम्ममा पुलको ट्रस जडान गरिसक्ने गरी कामलाई तीब्रता दिँदै आएको थियो । शुक्रबार राति भीषण वर्षासँगै तमोर नदीमा अचानक बाढी आउँदा निर्माणाधीन मोटरेल पुल बगाएको हो ।

पुल निर्माण गर्ने जिम्मा पाएको एमएस सपना याक्थुङ जेभीले तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनासँग २०७४ फागुनमा निर्माणसम्बन्धी काम (ठेक्का) को सम्झौता गरी पुल बनाउन सुरु गरेको थियो । तमोर कोरिडोर नेपाल, भारत र चीन जोड्ने छोटो सडक मार्गको रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *