पाल्पामा जंगली च्याउ खाएर बिरामी भएका २ जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ ताँहु ओमभन्ज्याङकी ६६ बर्षिया विनिमाया कामु मगर र ३७ वर्षिया बालकुमारी खाम्चाको जंगली च्याउ खाएर बिरामी भई अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । युनाइटेड मिसन अस्पतालमा तानसेनमा उपचारको क्रममा कामुको मंगलबार र खाम्चाको बुधबार ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए ।
जिल्लाका अन्य पालिकामा पनि जंगली च्याउको तरकारी खाएपछि दर्जन बढी बिरामी परेका छन् । रम्भा ताँहुकी ५० वर्षीया यानुमाया जर्घा र तानसेन नगरपालिका वडा नं. ११ भालुवनका चार जना बिरामीको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
त्यस्तै निस्दी गाउँपालिका वडा नं. ४, झुल्याटुङ्गका दुई जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जंगली च्याउ खाएर बिरामी परेका माथागढी ३ कसेनीका चार जना र तानसेन नगरपालिका–८ का दुई जनाको लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् ।
बर्षाद्को समयसँगै उम्रिने जंगली च्याउहरू विषालु हुने भएकाले च्याउ खानेहरु बिरामी पर्ने र मृत्यु समेत हुने गरेको छ । जंगली च्याउको तरकारी खाएपछि हुने जोखिम कम गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य शाखामार्फत् गाउँ–गाउँमा सचेतना फैलाउन आग्रह गरेको छ ।
