चीनको झेङ्झाउ सहरमा रोबोटको सहायतामा एक मिनेटभन्दा कम समयमै बीवाईडी विद्युतीय कार (ईभी) तयार हुने गरेको छ । सेप्टेम्बर २०२१ मा बीवाईडीले झेङ्झाउ एयरपोर्ट इकोनोमी जोनमा उद्योग स्थापना गरेसँगै यहाँ विद्युतीय सवारी, मुख्य पार्टपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुने गरेका छन् । कुल १०.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बीवाईडी कारखानामा यस्ता अत्याधुनिक विद्युतीय सवारी र कारका मुख्य पार्टपुर्जा बनाइन्छ ।
विद्युतीय कार उत्पादनका मुख्य प्रक्रिया स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बलिङका साथै बीवाईडीले यहाँ अन्य महत्त्वपूर्ण कारखाना पनि स्थापना गरेको छ । यहाँ सवारीसाधनका मोटर, इलेक्ट्रोनिक कन्ट्रोल, पावर सप्लाई, पावर ट्रेन, एयर कन्डिसनिङ, स्टेयरिङ, ट्रिम, बत्ती, फ्रेम, सिट र अन्य प्रमुख पार्टपुर्जाका साथै ब्लेड ब्याट्री पावर तयार हुने गरेको छ । झेङ्झाउमा बीवाईडी तयार पार्न आवश्यक सबै संरचना तयार गरिसकिएको कम्पनीले जनाएको छ ।
‘यस कारखानाको मुख्य प्रतिस्पर्धात्मक क्षमता यसको ९८ प्रतिशत स्वचालन दर हो, जसले विश्वकै अग्रणी इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ’ स्तरलाई प्रदर्शन गर्दछ,’ कम्पनीले जारी गरेको प्रेस नोटमा भनिएको छ । बीवाईडीको कारखानामा मानवीय जनशक्तिभन्दा रोबोट धेरै देखिन्छन् । कारका पार्टपुर्जा जोड्ने, त्रुटि पहल्याउनेजस्ता काम रोबोटबाट गर्ने गरिएको छ । यदाकदा कताकतै मात्र कारखानाभित्र मानिस भेटिन्थे । बीवाईडीका अनुसार ९८ प्रतिशत वेल्डिङको काम रोबोटद्वारा हुने गरेको छ, त्यहाँ १ हजार ५ सय रोबोट परिचालित छन् ।
एक मिनेटभन्दा कम समयमा एउटा कार (बडी) तयार हुने गरेको बीवाईडी नेपालका कन्ट्री म्यानेजर लिन जिल बताउँछन् । नेपालबाट बीवाईडी कारखाना अवलोकनमा पुगेका पत्रकारलाई जानकारी दिँदै जिलले छोटो समयमै कम्पनीले रोबोटको सहायतामा तीव्र उपलब्धि हासिल गरेको जनाए । रोबोटले कार उत्पादन संख्या वृद्धिमा उल्लेख्य भूमिका खेलेको उनको भनाइ छ ।
लिन जिलका अनुसार कम्पनीका रिसर्च एन्ड डेभलभमेन्ट इकाईहरूमा मात्रै एक लाख २० हजारभन्दा बढी कार्यरत छन् । ‘यहाँ एक मिनेटभन्दा कम समयमा विद्युतीय सवारी साधन र प्रत्येक तीन सेकेन्डमा एउटा पावर ब्यार्टी सेल तयार हुन्छ,’ उनले भने ।
बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कको समन्वयमा केही समयअघि चीनको झेङ्झाउ र सेन्जेन सहरमा बीवाईडी कम्पनीका विद्युतीय सवारी र तिनमा प्रयोग हुने ब्याट्री उत्पादन गर्ने उद्योगको प्रत्यक्ष अवलोकन गराइएको थियो । यसका लागि नेपालबाट विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकार, कन्टेन्ट क्रिएटर, एन्फ्लुएन्सर र बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्क टिमले उद्योगमा तयार हुने विद्युतीय कार र ब्याट्री उत्पादनबारे जानकारी लिएका थिए ।
सेन्जेनमा भने करिब ९ मिनेट अर्थात् ८ मिनेट २६ सेकेन्डमा ९७ प्रतिशत कार चार्ज हुने ‘फ्ल्यास चार्जिङ’बारे जानकारी दिइएको थियो । ९ मिनेटको फ्ल्यास चार्जिङले ९ सय ८८ किलोमिटरसम्म विद्युतीय कार गुडाउन सकिने कम्पनीले बताएको छ । बीवाईडीले चीनभर ठूलो संख्यामा फ्ल्यास चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । चीनका विभिन्न सहर तथा स्थानमा ४ हजार २ सय ३९ स्टेसन निर्माण भइसकेका छन् । सन् २०२६ को अन्त्यसम्म चीनभर यस्ता २० हजार स्टेसन सञ्चालनमा ल्याउने बीवाईडीको लक्ष्य छ ।
निरन्तर प्राविधिक नवीनता (इनोभेसन) बाट मात्र कुनै पनि कम्पनीले समाजका लागि केही अर्थपूर्ण काम गर्न सक्ने बीवाईडी कम्पनीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुलियाङ सुनाउँछन् । ‘हामीले सन् २००४ मा पहिलो पटक प्रस्ताव गरेको प्राविधिक सपना पछ्याउँदै २० वर्ष बितायौं । २०२४ सम्ममा त्यो लक्ष्य हासिल गर्यौं,’ उनले भने, ‘हामी सपना सिर्जना गर्ने, पछ्याउने र त्यसलाई पूरा गर्ने कम्पनी हौं । हामी सिर्जना गर्छौं र त्यसलाई पूरा गर्छौं ।’
यस प्रकारको इनोभेसनबाट मात्र कुनै पनि कम्पनीले समाजका लागि केही अर्थपूर्ण काम गर्न सक्ने सुलियाङको भनाइ छ । ‘सोच्नुस् त, २० वर्षअघि विद्युतीय सवारीसाधनमा कसलाई चासो थियो ?’ सुलियाङले भने, ‘सन् २००४ बेइजिङ इन्टरनेसनल अटो शोमा हामी सहभागी भएका थियौं । हामीले आफ्नो पहिलो इलेक्ट्रिक कन्सेप्ट कार प्रदर्शन गरेका थियौं, त्यो कार अहिले झेङझाउ संग्रहालय (म्युजियम) मा छ ।’
नेपाल बीवाईडीका लागि महत्त्वपूर्ण बजार भएको सुलियाङले जनाए । ‘करिब १० वर्षअघि पहिलो पटक मैले नेपालको भ्रमण गरेको थिएँ, त्यो बेला ममा के छाप परेको थियो भने त्यहाँ बिजुलीको अभाव छ । नेपालले कसरी विद्युतीय सवारीको विकासमा सघाउन सक्ला भन्ने शंका पैदा भएको थियो,’ सुलियाङले भने, ‘तर त्यहाँका सरकारी अधिकारी र साझेदारसँग कुराकानी गरेपछि नेपालको भावी विकासलाई लिएर सबैजना आशावादी भएको देख्दा निकै प्रभावित भएँ ।’
नेपालमा १० वर्षअघिको कमजोर पूर्वाधार र महामारीका चुनौतीहरूका बाबजुद साझेदार साइमेक्स इन्कसँग मिलेर आफूहरुले बीवाईडीको बजार विस्तार गरेको सुलियाङले जनाए । नेपालीको मिहिनेत एवं काम गराइसँग आफूहरूको समर्पण मेल खाएको उनको भनाइ छ ।
साभारः कान्तीपुर
