प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउछन् ।चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएको छ । जसमा भनिएको छ–
असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् । द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले, कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री पोखरेलले बताए ।
क्षयमास कार्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कार्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ।
क्षयमास हुने वर्ष दुई अधिकमास नियमित समेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे ।
गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्ने छन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।
पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुआत गर्नु नहुने नियम रहेको पनि उनकाे धारणा छ । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेश जस्ता कर्म गर्नु हुँदैन ।
यसैगरी, गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
आजदेखि मच्छेनारायण (मत्स्यनारायण) मेला सुरु
रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ ।
मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ ।सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।
भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरेकाे । मत्स्यरूपी भगवानले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेकाे पुराणमा उल्लेख छ ।
यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो । अधिकमास परेको महिनामा वैदिक सनातन धर्मावलम्बीले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् ।
