चुनावको सुरक्षामा सरकारको दौडधुप, आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ।यसै सिलसिलामा  राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन् भने आजका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।

राष्ट्रपति पौडेलको आह्वानमा शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू तथा चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूको उपस्थिति थियो। छलफलमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण गर्नेदेखि मुलुकको समग्र सुरक्षा अवस्थालाई सुदृढ पार्ने उपायहरूबारे गहन विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज  केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी भएको हाे ।गृहमन्त्री अध्यक्ष रहने उक्त समितिमा गृह तथा रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकले एकीकृत निर्वाचन सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गरी आवश्यक नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख, सहसचिव आनन्द काफ्लेको नेतृत्वमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। समितिले तयार पारेको सुरक्षा योजनालाई कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइने र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा रहने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले यसको कार्यान्वयन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *