अविरल वर्षाले जनजीवन प्रभावित

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आज असोज १९ गते बिहानसम्मकाे बाढी अपडेटः 

अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राखी खोज तथा उद्धारसँग राहत र पुनस्र्थापनाका लागि नेपाली सेनाका विशेष उद्धारक टोली हवाई साधनसहित काठमाडौँ, चितवन, इटहरी, सुर्खेत, धनगढीलगायतका स्थानमा तयारी अवस्थामा राखिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरीबलका तालिमप्राप्त विपत् प्रतिकार्य टोलीलाई समेत उच्च सतर्कतासहित देशभर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी संयन्त्रलाई पूर्वतयारी अवस्थामा राखिएको छ ।  अविरल वर्षासँगै सम्भावित जोखिम न्यूनीकरणका लागि अधिकांश राजमार्ग बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म निरन्तर अविरल तथा अधिकतम वर्षा पूर्वानुमान गरेसँगै सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यका भित्रिने र बाहिरिनेलगायत लामो दुरीका सवारी आवतजावतमा रोक लगाएको छ । प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका तथा काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत तीन दिन बन्द गरिएको सूचना जारी गरिसकेकाे छ  ।

प्राधिकरणका अनुसार यही असोज १८, १९ र २० गतेसम्म काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने र देशभरका लामो दुरीका सवारी बन्द गरिएको छ । प्राधिकरणको निर्देशनलगत्तै नेपाल प्रहरीले काठमाडौँबाट बाहिरिने मुख्य नाकालगायत देशभरका मुख्य स्थानमा माइकिङ गर्दै अत्यावश्यकबाहेक आवत जावत नगर्न आग्रह गरेको छ ।

यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेकका सवारीसाधन नचलाउन र त्यसको कडा अनुगमन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन जारी गरेको छ । प्रतिकूल मौसमका कारण त्रि अ विमानस्थलबाट हुने उडान अवतरणसमेत बन्द गरिएको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने राजमार्गसँगै हवाई उडानसमेत बन्द भएका कारण यात्रु समस्यामा परेका छन् ।

खानपिन व्यवस्थापन 

बाढीपहिरो र डुबानजन्य जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले आगामी तीन दिनसम्म सवारी सञ्चालनमा रोक लगाइएपछि गन्तव्यतर्फ प्रस्थान गरिसकेका केही सवारीसाधन बाटोमै रोकिएका छन् । प्राधिकरणले रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राखी खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक बन्दोबस्त गर्न सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्रसँग समन्वय गरेर तत्काल प्रबन्ध मिलाउन आग्रह गरेको छ  ।

प्राधिकरणले सबै लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय हुनुअघि नै प्रस्थान गरेका सवारीसाधन बिचबाटोमा रोकिएपछि आपत्कालीन व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई सक्रिय हुन भनिएको हो । प्राधिकरणले यस्तो व्यवस्थापनमा समन्वय तथा सहजीकरणका लागि गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घलाई आग्रह गरेको छ ।

गृहमन्त्रीद्वारा पूर्वतयारी निरीक्षण 

गृहमन्त्री ओमप्रकाश अर्यालले  प्रहरी प्रधान कार्यालय,  प्रहरी विपत् व्यवस्थापन कार्यालय सामाखुसीको स्थलगत निरीक्षण गरी पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार निरीक्षणका क्रममा विपत म्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपत् उद्धार सामग्री भण्डार, ‘प्रहरी विपत पूर्वतयारी टिम’ को अवलोकन गरी सम्पूर्ण जानकारी लिका हुन  । त्यस अवसरमा उनले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपत् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए  ।

साथै उनले सम्भावित विपतकाे जोखिमबाट हुन सक्ने जनधन क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

दुर्घटनामा सात जनाको मृत्यु 

तमोर कोरिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३, कात्तिकेमा शनिबार भएको बलेरो दुर्घटनामा छ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवाबाट धरानका लागि हिँडेको मे १ ज ३०५५ नम्बरको बलेरो शनिबार मध्याह्न पाँचथरको कुम्मायक–३ स्थित तमोर कोरिडोरको कात्तिके खण्डमा दुर्घटनामा परेको थियो ।

दुर्घट्नामा परी ताप्लेजुङको मेरिङदेन ५ थुकिम्बाका  २५ वर्षिय घन कुमार लिम्बू , मेरिङदेन ५ थुकिम्बाका ३२ वर्षिय अभिसेक लिम्बू, मेरिङदेन ४ लिङतेपका २१ वर्षिया गीता हाङगाम, ताप्लेजुङ मिक्वाखोला ४ की २८ वर्षिया मनिषा कार्की, मेरिङदेन ३ का ३३ वर्षिय विनोद लुङवा, सिदिङवा १ कि २९ वर्षिय युना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।

कार्यस्थल पुग्न निर्देशन 

यसैबिच सरकारले विपत् जोखिम न्यूनीकरणसँग सम्बन्धित कार्यालय प्रमुखलाई शनिवारनै अनिवार्य रूपमा कार्यस्थल पुग्न निर्देशन दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको निर्देशन अनुसार सूचना सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचनामार्फत अनिवार्य रूपमा कार्यालयबाटै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले प्रतिकूल मौसमको अवस्थामा आआफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखलाई शनिबारदेखि नै अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन र पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन दिएको हाे  । मन्त्रालयका अनुसार सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउनुहुन अनुरोध गरिएको छ ।

निजी हेलिकोप्टर सञ्चालकलाई अनुरोध 

अविरल वर्षासँग सम्भावित विपत्को खोज तथा उद्धारका लागि गृह मन्त्रालयले वायु सेवा सञ्चालक सङ्घलाई निजी हेलिकोप्टर तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध हो ।

भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो तथा डुबानबाट प्रभावितको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनस्र्थापना गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सङ्घबिच यसअघि नै गरिएको सम्झौतालाई कार्यान्वयन गर्नेबारे मन्त्रालयले स्मरण पनि गराएको छ ।

एघार राजमार्ग बन्द 

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले काठमाडौँबाट आवतजावत गर्ने मार्गसहित मुलुकभरिका मुख्य एघार राजमार्गको आवागमन रोकिएको छ । आवागमन रोकिएसँगै मुलुकको अन्य भू–भागसँग सङ्घीय राजधानी काठमाडौँको स्थलमार्गको सम्पर्क टुटेकाेछ ।

कतिपय राजमार्ग बाढीपहिरो, सडक भासिएका कारण र कतिपय राजमार्गमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यसहित सुरक्षाका दृष्टिकोणले आवागमन रोकिएको सडक विभागले जनाएको छ । विभागका अनुसार पूर्व–पश्चिम  महेन्द्र  राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ, नागढुङ्गा–मुग्लिङ, मुग्लिङ–नारायणघाट, नारायणघाट–बुटवल, काठमाडौँ–फर्पिङ–भैँसे–हेटौँडा, काठमाडौँ–फर्पिङ–सिस्नेरी–हेटौँडा र कालीगण्डकी कोरिडोर (भिमाद–डेढगाउँ–गैँडाकोट) मा आवागमन रोकिएको छ ।

काठमाडौँलाई हेटौँडासँग जोड्ने मुख्य चार वटै मार्गमा आवागमन रोकिएको हो । मुलुककै पुरानो मार्गमध्ये हेटौँडा–भैँसेदेखि नौबिसेसम्मको त्रिभुवन राजपथ, ललितपुरको सातदोबाटो जोडिने कान्ति लोकपथ, कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकमा आवागमन रोकिएको छ ।

विभागका अनुसार बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द गरिएको छ  । गत वर्ष असोजमा आएको बाढीपहिरोपछि निर्माण गरिएका डाइभर्सनसमेत बाढीले बगाएको छ ।

नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइनखोला पुलमा पहिरो जाँदा आवागमन रोकिएको छ । त्यसै गरी अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा पहिरोका कारण आवागमन रोकिएको छ ।

भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवागमन अवरुद्ध भएको छ  । त्यसै गरी ललितपुरको बागमती गाउँपालिका टाकुचेमा खसेको पहिरोका कारण कान्ति लोकपथमा आवागमन रोकिएको छ  । यसै गरी फर्पिङ–सिस्नेरी अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ ।

खोल्साले बगाएर चार जना बेपत्ता 

रसुवा गोसाइँकुण्ड गाउँपालिका–४, बेरिङ खोल्साले बगाउँदा भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले लाङटाङ घुम्न गएका चारजना बेपत्ता भएको पुष्टि गरेका छन्  ।

भक्तपुर मध्यपुर थिमि नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिकाका रवि श्रेष्ठ खोल्साले बगाएर बेपत्ता भएका हुन । असोज १७ गते भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न गएको थियो ।

गोसाइँकुण्ड गाउँपालिका–५, ब्याम्बोस्थित होटेलमा बास बसेर शनिबार लाङटाङतर्फ जाने क्रममा बेरिङ खोल्साले चार जनालाई बगाएको छ । प्रजिअ घिमिरेले भने , “जिल्ला प्रहरी कार्यालय रसुवाले चार जना बेपत्ता भएको, शनिबार रातिसम्म नभेटिएको र खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *