माओवादीका सबै कमिटी विघटन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी विघटन (भंग) गरिँदै छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीसमेत विघटन गरेर विशेष महाधिवेशनमा माओवादी केन्द्र जाँदै छ ।

विशेष महाधिवेशनमा जाने दाहालको प्रस्ताव

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल’ले अहिलेको सबै तहका कमिटीहरू विघटन गरेर आउँदो मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेको मौजुदा सबै तहका कमिटी विघटन गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव बैठकमा आएको बताए । पदाधिकारी बैठकमा यस्तो प्रस्ताव अध्यक्ष प्रचण्डले गरेको र आउँदो ९ असोज (बिहीबार) बस्ने केन्द्रीय कमिटीमा छलफल हुने बताए ।

केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले गरेको प्रस्तावमा छलफल गर्दै पार्टी अब विशेष महाधिवेशनमा जाने उनले बताए । जेन–जी आन्दोलन र पार्टीमै उठिरहेका प्रश्नहरू  विशेष महाधिवेशनमा छलफल गरिने छ ।

‘केन्द्रीय कमिटीसहित सबै तहका कमिटी अब विघटन हुन्छ, लोकतान्त्रिक प्रक्रियाअनुसार कमिटीहरू गठन गरिने र युवाहरूलाई उम्मेदवार बनाउँदै अगाडि बढ्ने प्रस्ताव अध्यक्ष कमरेड प्रचण्डबाट आएको छ, विशेष महाधिवेशन गर्दै आउने निर्वाचनमा पनि युवाहरूलाई उम्मेदवार बनाउँदै अगाडि बढ्ने ’boutमा छलफल जारी छ,’ माओवादी केन्द्रका सचिव पौडेलले  भने ।

पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व निर्माणको प्रस्ताव गर्दै तत्काल केन्द्रीय समितिलाई आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । पदाधिकारी बैठकले सो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निष्कर्ष निकालेको छ ।

जेन–जीको आन्दोलनपछि माओवादीमा पनि नेतृत्व परिवर्तनको बहस जोडतोडले उठेको छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहालले तत्काल राजीनामा दिनुपर्ने माग सार्वजनिक रूपमै गरिसकेका छन् ।

कांग्रेसमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशन नहुने

नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको आवाज उठेको छ । तर, नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको आवाज उठाउनेलाई अस्वीकार गरिएको छ । कांग्रेसका पूर्वपदाधिकारीबीच पार्टीको आन्तरिक समीकरण, नेतृत्व परिवर्तन र आगामी महाधिवेशनका विषयमा आइतबार चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ ।

छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए ।

पार्टीका पदाधिकारी तहका नेताले विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाएको विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले बदलिँदो परिस्थितिमा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेलगत्तै कतिपय नेताहरूले त्यसको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू एकठाउँमा भेला भएका हुन् । पार्टी नेतृत्व परिवर्तन सुरु गरिएको बहसप्रति प्रवक्ता महतले आपत्ति जनाएका छन् । प्रवक्ता महतले पत्रकार सम्मेलन गर्दै महामन्त्रीहरूले अघि सारेको प्रस्तावमा विमति राखेका हुन् ।

पार्टी रूपान्तरणका लागि तत्काल महाधिवेशन गर्नुपर्ने लगायत माग महामन्त्री थापा र शर्माले राखेपछि कंग्रेसको आन्तरिक राजनीतिलाई तरंगित बनाएको छ । लोकतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै प्रवक्ता महतले पार्टीमा संयमित भएर अघि बढ्नुपर्ने बताए । यसअघि कांग्रेस महामन्त्री थापाले अबका दिनमा पार्टी रूपान्तरण र पुनर्गठनको कुनै विकल्प नभएको बताएका थिए ।

एमालेमा पनि नेतृत्व परिवर्तन नहुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा पनि नेतृत्व परिवर्तन नहुने भएको छ । कांग्रेस र माओवादी केन्द्रजस्तै एमालेमा पनि नेतृत्व परिवर्तनको आवाज उठे पनि त्यसलाई अस्वीकार गरिएको छ ।

नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने आवाज एमालेमा उठेको छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरूले त्यसलाई अस्वीकार गर्दै नेतृत्व परिवर्तन नहुने जवाफ फर्काउँदै आएका छन् । अहिले एमालेमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस जारी रहेको छ ।कांग्रेस र माओवादी केन्द्रको बैठकले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा गम्भीर छलफलमा जुटे पनि एमालेले कुनै तहको बैठक बोलाएको छैन् ।

पार्टी एकताको गृहकार्य

प्रमुख दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहससँगै पार्टी एकताको गृहकार्यसमेत जारी छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द  नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सहितका दलबीच पार्टी एकताका लागि छलफल जारी नै रहेको छ ।

समाजवादी मोर्चामा रहेका यी दलले पार्टी एकता गर्ने र त्यसका लागि वार्ता समितिसमेत गठन गरेर छलफललाई निरन्तरता दिएका छन् । यसअघि ३ असोजमा पार्टी एकता गर्ने गृहकार्य भए पनि जेनजी आन्दोलन र बदलिएको पछिल्लो अवस्थाका कारण पार्टी एकता हुन सकेन ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेसपासहितका दलहरूले २१ फागुनको निर्वाचनअघि नै पार्टी एकता गर्नेगरी छलफल थालेका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद एवं पार्टी एकता गर्नुपर्ने दबाबका कारणले समेत शीर्ष नेताहरू पार्टी एकता गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

समाजवादी मोर्चामा रहेका पार्टी एकताका लागि एकताको ‘मोडालिटी’, सैद्धान्तिक अवधारणालाई अन्तिम रूप दिनेगरी शीर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा मोडेलमा पार्टी एकता गर्ने सहमति भइसकेको छ । यी दलका बीचमा पार्टी एकतापछि दुई अध्यक्ष, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तत्कालीन नेकपा मोडेलमा हुनेछ । कमिटीमा हुने सदस्यहरूको संख्या भने पहिलाभन्दा बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *