ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्। आज मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो निर्देशन दिएका हुन “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने , “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने उल्लेख गरे ।
आज शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकासँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरे उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे । पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए ।
ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताउदै अब निर्माणको अभियान सुरु भएको विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुतगतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो। उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।
घिसिङ नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुन । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनलाई आन साँझ मन्त्रीको जिम्मेवारी दिएका हुन । उनले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
