कहिले खुल्छ दसैँका लागि अग्रिम टिकट बुकिङ ?

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जेनजीको आन्दोलनका कारण ५ दिनदेखि ठप्प सार्वजनिक यातायात शनिबार बिहानदेखि सञ्चालनमा आएका छन् । मंगलबारदेखि बन्द गरेको सार्वजनिक यातायात व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा शनिबारबाट सञ्चालन गरेको जनाएको हो । देशको वर्तमान परिस्थिति सामान्य बनेसँगै स्थानीय सरकारसँगको समन्वयमा यातायात सञ्चालन गरिएको व्यवसायीहरूको भनाइ छ । अहिले लामो र छोटो दुरीका सवारी साधन सञ्चालनमा आइसकेका छन् । जसले यात्रुहरूलाई आवतजावत गर्न सहज भएको छ ।

यता दसैँ पनि नजिकिएको छ । दसैँमा काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा यात्रुहरू बाहिरिने गर्छन् । यस बेला बाहिरिने यात्रुले टिकट नपाउने, दोब्बर भाडा तिरेर टिकट लिनुपर्ने अर्थात् टिकटका नाममा ठगी हुने, उभिएर यात्रा गर्नुपर्ने समस्या यात्रुले बर्सेनि झेल्दै आएका छन् । यात्रुका समस्यालाई मध्यनजर गर्दै सरकारले अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ । तर यो वर्ष भने अग्रिम टिकट बुकिङ खुला गर्न ढिला भएको छ । अबको सात दिनपछि दसैँ सुरु हुन्छ ।

गत वर्षको दसैँका लागि घटस्थापनाको ५ दिन अघि टिकट बुकिङ खुला गरिएको थियो । तर बाढी पहिरोका कारण सडक यातायात प्रभावित नै बनेको थियो । यो वर्ष भने एक साता अघि नै खुलाउने भनिएको थियो ।

यातायात व्यवस्था विभागले पनि टिकट बुकिङ खुलाउन ढिलाइ भएको स्वीकार गरेको छ । विभागका निर्देशक श्रीकान्त यादवका अनुसार विभागले गत सोमबार टिकट बुकिङ खुलाउनका लागि सरोकारवालासँग छलफल गर्ने मिति तय गरेको थियो । तर जेनजीको आन्दोलनका कारण छलफल हुन नसक्दा ढिलाइ भएको बताए ।

आइतबार सम्बन्धित सरोकारवालाहरूसँग बसेर टिकट बुकिङ खुला गर्नेबारे छलफल गर्ने तयारी भएको निर्देशक यादवले जनाए , ‘टिकट बुकिङ खुला गर्नका लागि यसअघि भदौ २४ गते सरोकारवालासँग छलफल गर्ने तय भएको थियो । तर देशको विषम परिस्थितिका कारण हुन सकेन । अब यही आइतबार छलफल गर्ने तयारी छ ।’ साथै टिकट बुकिङ खुला गर्नका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी र सडक विभागसँग छलफल गरेपछि मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

यसै गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरका अनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालाहरूलाई आइतबार बैठक आह्वान गरेको छ । यस बैठकले दसैँका लागि टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्नेबारे छलफल गर्नेछ ।

अध्यक्ष स्वाँरले पनि यसअघि भदौ २४ गतेका लागि तय भएको बैठक आन्दोलनका कारण स्थगित भएको जानकारी दिए । अध्यक्ष स्वाँरले भने, ‘अब भोलि (आइतबार ) यातायात मन्त्रालयमा सबै सरोकारवाला निकायका प्रतिनिधिहरू, जसमा यातायात सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायतको उपस्थितिमा अनौपचारिक छलफल गरिनेछ । यस छलफलपछि औपचारिक निर्णय हुन्छ ।’

अहिलेदेखि मानिसहरू दसैँका उपत्यका छोड्न थालिसकेको बताए । लागि यातायात नियमित सञ्चालनमा आउनेछन् । विगतमा घटस्थापनाभन्दा करिब एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुल्ने गरेको थियो । यस वर्ष पनि सोहीअनुसार हुने सम्भावना रहेको अध्यक्ष स्वाँरले बताए ।

साथै टिकट बुकिङ भौतिक (काउन्टरबाट) र अनलाइन दुवै माध्यमबाट उपलब्ध हुनेछ । यद्यपि, कहिलेदेखि बुकिङ खुल्छ भन्नेबारे भोलिको बैठकबाट मात्रै टुङ्गो लाग्ने उनको भनाइ छ ।

ट्राफिक प्रहरी, प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरलगायत सबै सरोकारवालाको सहमतिमा मात्र अन्तिम निर्णय हुनेछ ।

स्वाँरले भने, ‘अहिले पनि वर्षा हुने क्रम जारी छ । सडकको अवस्था, सवारीको चाप र अन्य प्राविधिक पक्षबारे सरकारसँग बसेर सहकार्य नगरी चाडपर्वमा यातायात व्यवस्थापन गर्न सकिँदैन ।’ साथै सडकको अवस्था के कस्तो छ? त्यसबारे बुझेर मात्र टिकट बुकिङ खुला गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *