अन्तरिम सरकारलाई रास्वपाको समर्थन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनियुक्त अन्तरिम सरकारलाई सशर्त समर्थन जनाउँदै घोषित लक्ष्यहरूबाट विचलित भए प्रतिरोध गर्ने चेतावनी दिएको छ। देशलाई कठिन संक्रमणकालबाट पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले पाएको जिम्मेवारीलाई स्वीकार गर्दै रास्वपाले यो परिवर्तन जेन-जी पुस्ताको निर्णायक हस्तक्षेपको बलमा सम्भव भएको स्मरण गराएको छ।

आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा अन्तरिम सरकार गठनको संवैधानिक पृष्ठभूमिमाथि भने प्रश्न उठेकोतर्फ संकेत गरिएको छ।

रास्वपाले देशलाई निकास दिन आफूले भदौ २६ गते नै ताजा जनादेशको प्रस्ताव अघि सारेको कुरा पुनः दोहोर्‍याएको छ। ‘राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

पार्टीले आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नु अन्तरिम सरकारको प्रमुख दायित्व भएकोमा जोड दिएको छ।

रास्वपाले अन्तरिम सरकारबाट निम्न पाँचवटा मुख्य अपेक्षा राखेको छ:

– लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग।
– विधिमा बाँधिएको असल शासन र भ्रष्टाचारविरुद्ध कडा कदम।
-पुनर्निर्माण र आर्थिक सुधार ।
-सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध ।
-विकासमा गुणस्तरीय द्रुतता ।

‘यी घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *