कारागारमै फर्किए रवि, सुरक्षा व्यवस्था मिलाएर राखियो

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने दिउँसो आफैँ कारागार पुगेका थिए, तर सुरक्षाको कारण देखाउँदै प्रशासनले उनलाई भित्र प्रवेश गराउन करिब पाँच घण्टा लगाएको थियो।

लामिछाने भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको कारण देखाउँदै कारागारबाट बाहिर निस्किएका थिए। अदालतको आदेशबिना परिस्थितिको फाइदा उठाउँदै बाहिरिएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

यसै सन्दर्भमा, शनिबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफ्नो जन्मदिनको अवसर पारेर कारागार फर्किन लागेको घोषणा गरेका थिए। ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ उनले भनेका थिए।

उनी दिउँसो कारागार पुगेपनि प्रशासनले सुरक्षा व्यवस्था मिलाउन समय लागेको भन्दै उनलाई बाहिरै राखेको थियो। यसअघि, लामिछानेले आफू प्रक्रिया पूरा गरेरै निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए।

तर, नख्खु कारागार प्रशासनले उक्त पत्रलाई फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *