काठमाडौँमा मेलम्ची भण्डारणका लागी नयाँ पानीपोखरीहरु निर्माण

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँका उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउन काठमाडौँ उपत्यकाका विभिन्न दस स्थानमा पानीपोखरी निर्माण गरिएको छ । उपत्यकाको महाँकाल, कीर्तिपुर (दुई वटा), बालाजु, हेपाली हाइट, आरुबारी, जगडोल, ललितपुरको खुमलटार, भक्तपुरको कटुन्जे र टिगिनीमा पानीपोखरी निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जनाएको छ ।

निर्देशनालयका अनुसार  मेलम्ची खानेपानी आयोजनाको उपआयोजना अन्तर्गत सञ्चालित काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणमा ती पोखरीहरू निर्माण गरिएको हो । ती पोखरीहरूको कुल क्षमता ७४ हजार पाँच सय घनमिटर छ । यससंगै  आयोजनाको पहिलो चरणको काम सम्पन्न भएकाेछ । ।

त्यसै गरी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोक रूपमा खानेपानी पठाउन प्रतिदिन २२ करोड लिटर क्षमताका करिब ७७ किलोमिटर नयाँ थोक वितरण प्रणालीसमेत निर्माण गरिएको  आयोजनाले जनाएकाे छ ।

यस चरणमा पानीपोखरीहरूबाट उपत्यकावासीका धाराहरूमा खानेपानी पुर्‍याउन कुल एक हजार दस किलोमिटर खानेपानी वितरण प्रणालीको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाका अनुसार स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही, मण्डिखाटार, कपन, चाबहिल र बौद्धको दक्षिणी भेगलगायतका क्षेत्रमा थप करिब आठ सय किलोमिटर खानेपानी वितरण प्रणाली निर्माण गरिएको छ ।

त्यसै गरी आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौँ, ललितपुर र भक्तपुरमा निर्माण थालिएका फोहोर पानी प्रशोधन केन्द्रहरूमध्ये दुई वटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको  आयोजनाले जनाएको छ ।

जस अनुसार काठमाडौँको गुह्येश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोर पानी प्रशोधन गरी सफा र स्वच्छ पानी बागमती नदीमा प्रवाह गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो ।

त्यसै गरी ललितपुरको धोवीघाटमा निर्माणाधीन दुई वटामध्ये प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको  आयोजनाले जनाएकाे छ ।

धोविघाटकै अर्को फोहोरपानी प्रशोधन केन्द्रसहित कोड्कु र भक्तपुरको सल्लाघारीमा पनि फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य जारी छ । निर्माणाधीन केन्द्रहरूमध्ये धोवीघाटकै अर्को केन्द्रको फोहोरपानी प्रशोधन क्षमता प्रतिदिन तीन करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन एक करोड ७५ लाख लिटर र सल्लाघारीको प्रतिदिन एक करोड ४२ लाख लिटर रहने जनाइएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण सम्पन्न भएका पानीपोखरीहरू, थोक वितरण प्रणाली र त्रिभुवन विश्वविद्यालयसहित कुल ३३ वटा खानेपानी वितरण प्रणाली (डिएमए) मध्ये १४ वटाको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिसकेको छ ।

कीर्तिपुर र आरुबारीमा निर्माण गरिएका थप दुई वटा पानीपोखरी तथा बाँकी रहेका १९ वटा खानेपानी वितरण प्रणालीमध्ये ११ वटाको स्वामित्व हस्तान्तरण गर्न तयारी अवस्थामा छ भने बाँकी आठ वटा वितरण प्रणालीहरू पनि निकट भविष्यमै बोर्डलाई हस्तान्तरण गर्ने गरी तयारीका कार्य भइरहेको छ ।

काठमाडौँ उपत्यकाका दशकौँदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावट रहित किसिमले स्वच्छ एवं सफा खानेपानी उपत्यकावासीका घर घरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालनमा ल्याइएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *