झापाकाे शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।आयोजक झापा महिला गोल्डकपले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएकाे हाे ।
शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधिन दुधे रङ्गशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिमसहित नेपालका विभागीय टिम त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरी, छिमेकी मुलुक भारत र भुटानको एक एक टिम तथा ‘ए’ डिभिजनका थप दुई गरी आठ टिमको सहभागिता रहने आयोजक समितिले जानकारी दिएकाे छ । प्रतियोगिता सम्पन्न गर्न कुल एक करोड रुपियाँ लगानी हुने बताइएकाे छ ।
विजेता टोलीलाई हालसम्म नेपालको प्रतियोगितामा महिला फुटबलको सर्वाधिक पुरस्कार सात लाख ५० हजार रुपियाँ प्रदान गरिने छ । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
