बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन निर्माण सुरू

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ। नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो।

राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ। आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइन मार्फत ट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ। अमलेखगन्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १०.७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ।

परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजना आजदेखि सुरू भएको बताउदै भने  “सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको छ, अब कार्यान्वयन सुरू भयो, भोलिबाट सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम सुरू हुन्छ, तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउछौँ।”

यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने बताए साथै निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारीलगायत व्यवस्था गरिने जानकारि दिए ।

निगमका उपनिर्देशक रामहरि निरौलाले निर्धारित समयमै परियोजना सम्पन्न हुने उल्लेख गर्दै टयाङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने विश्वास व्यक्त गरे । राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आउँदा स्थानीय खुसी भएको बताउदै भने “यो राप्ती नगरपालिकाको मात्रै नभई चितवनको गौरव हो, परियोजनाको सफलतापूर्वक कार्यान्वयनबाट यस क्षेत्रको आर्थिक आयआर्जन गर्ने, जीविकोपार्जनमा सहज हुनेछ। परियोजनालाई सफल बनाउन राप्ती नगरपालिका तयार छ”।

पाइपलाइन परियोजना विस्तारको कार्य सुरू भएपछि लोथरका स्थानीयले खुसी व्यक्त गरेका छन्। उक्त परियोजना निर्माणबाट यस क्षेत्रका स्थानीयको जीविकोपार्जनमा सहज तथा स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

पाइपलाइनबाट दुई सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ। ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिए । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ।

त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ। यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ।

यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ। लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिट पेट्रोलियम पदार्थ भण्डारण हुनेछ। यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ।

पाइपलाइन सहित भण्डारण गृह निर्माण लागत १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ। भारतको मोतिहारीदेखि अमलेखगन्जेसम्म सञ्चालनमा ल्याइएको अन्तरदेशीय पेट्रोलियम पाइप २०८१ जेठमा  अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो।

सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो। सोही समझदारीअनुसार गत असोज १७ गते इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच बिटुबी सम्झौता भएको थियो।

सो सम्झौतामा निर्माण कार्य सुरू भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याउने उल्लेख छ। इण्डियन आयल कर्पोरेशनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरिसकेको छ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको  ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ सालदेखि सञ्चालनमा आएको हो। सुरूआती चरणमा डिजेल र मट्टितेल पाइपलाइन मार्फत आयात गरिएकामा केही समय अघिदेखि पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याइएको छ।

सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सजह हुने विश्वास व्यक्त गरिएको छ। विसं २०२७ सालमा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण कार्यका लागि निगमको स्थापना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *