वीरगञ्ज महानगरपालिका-२४, रानीघाटका पिन्टु श्रीवास्तवले ७ वर्षदेखि चलाइरहेको चापाकलमा अचेल पानी आउँदैन । २ सय ६० फिट खनेर राखेको चापाकल कुनैदिन यसरी सुक्ला भनेर उनले कल्पनै गरेका थिएनन् । ‘अहिले खानेपानी समेत छोराको स्कुलबाट ल्याउनु परेको छ’, उनी भन्छन्, ‘नुहाउन र लुगा धुन कति दु:ख छ भनिसाध्ये छैन ।’ उखर्माउलो गर्मी हुने वीरगञ्जमा उनी पहिले दैनिक नुहाउँथे । ‘तर, यसपटक दुई दिन भयो, जीउमा पानी हाल्नै पाएको छैन’, श्रीवास्तव सुनाउँछन् ।
उनको घर नजिकै रहेको गुगल बोर्डिङ स्कुलमा भएको बोरिङबाट अलिअलि पानी आइरहेको छ । छोरा त्यहीँ पढ्ने भएकाले उनले बेलाबेला खानेपानी ल्याउन पाइरहेका छन् ।‘स्कुल बिदा भइसकेपछि त्यहाँबाट खानेपानी ल्याइरहेका छौं, लुगा धुनलाई चाहिँ ट्यांकरबाट बाँड्ने पानी प्रयोग गरिरहेका छौं’, श्रीवास्तवले थपे, ‘ट्यांकरबाट दुई/तीनवटा बाल्टीमा पानी थापेर राख्ने गरेका छौं, त्यसैले नुहाउने, लुगा धुने हो ।’
वीरगञ्जका केही स्थानमा सोमबार अपरान्ह सिमसिमे पानी पर्यो । त्यसले वीरगञ्जलाई केही शितल त बनाएको छ । तर, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह भन्छन्, ‘यति पानी परेर यहाँ बस्नेलाई केही सहज होला, तर पानीको समस्यालाई केही फरक पार्दैन ।’ तत्काललाई अहिलेको समस्या समाधान गर्न पर्सामा नेपाली सेनाले दमकल समेत गरी ६ वटा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । वीरगञ्ज महानगरले समेत छुट्टै ७ वटा दमकल/ट्यांकरबाट पानी बाँडिरहेको छ ।
‘वीरगञ्जलाई दैनिक करिब २.५ करोड लिटर पानीको आवश्यकता पर्छ, महानगरपालिकाको पानी ट्यांकरबाट दैनिक २४ घण्टामा करीब ४.५ लाख लिटर पानी वितरण भइरहेको छ’, मेयर सिंह भन्छन्, ‘नेपाल खानेपानी संस्थानले दैनिक १ करोड ७० लाख लिटर पानी आपूर्ति गर्छ, त्यसबाहेक विभिन्न ठाउँमा डिप बोरिङ समेत राखेका छौं । यद्यपि, हाम्रो आवश्यकता पूरा हुन सकेको छैन ।’
वीरगञ्ज–२४ का दिलिप यादव तत्काललाई गाउँमा बोरिङ राखिए केही राहत हुने बताउँछन् । ‘तर हामी कहाँ न खानेपानी संस्थानको पाइप लाइन आइपुगेको छ, न बोरिङ नै छ’, उनले सुनाए, ‘डेढ महिना भइसक्यो, चापाकलमा पानी नआएको कहिलेकाहीँ सेनाले बोकेर ल्याउने ट्यांकरबाट खानीपानी लिइरहेका छौं ।’
तीन वर्षमा निरन्तर घट्यो पानीको सतह
वीरगञ्ज महानगरपालिका वडा नं. २४ का युवराज चौरासियाका अनुसार, पोहोरसम्म पनि गाउँमा यतिविघ्न खानेपानी समस्या थिएन ।‘मेरोमा त ३०० फिटमा चापाकल राखेको हो, तर अरूतिर पानी घट्न थालेको दुई वर्षजति भइसकेको थियो’, उनी भन्छन्, ‘पहिले पानी छेलोछेलो हुन्थ्यो, अहिले दुई बाल्टी पानीले नुहाउने कि लुगा धुने ?’
वीरगञ्ज महानगरपालिकाका वन तथा वातावरण महाशाखा प्रमुख राकेश शाहले गरेको अध्ययनले पनि पछिल्लो तीन वर्षमा वीरगञ्जमा खानेपानीको समस्या उत्कर्षमा पुगेको देखाउँछ । पुल्चोक ईञ्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर अध्ययन गर्दा चापाकलकै विषयमा थेसिस गरेका उनले मधेशको चापाकलकै विषयमा छुट्टै रिसर्च समेत गरेका थिए । त्यस अध्ययनका क्रममा उनले लिएको तथ्यांकले पछिल्लो तीन वर्षमा कसरी चापाकलमा पानी सुक्दै गयो अहिले पर्दैन परेन’, उनी थप्छन्, ‘आजभोलि एक ठाउँमा पानी परिरहेको छ भने त्यसको केही मिटर पर नै सुख्खा हुने स्थिति छ ।’
यसका लागि दीर्घकालीन समाधानको उपाय खोज्नुपर्नेमा उनी जोड दिन्छन् । दिपक तिवारी पनि भन्छन्, ‘ठाउँ–ठाउँमा पोखरी निर्माण, पानीको भण्डारण, पाइप लाइन विस्तार र चुरे दोहन रोक्न अझै पनि जोड नदिने हो भने परिस्थिति झन् विकराल बन्छ ।’
