देवदह गुरुयोजना लागी असी अर्ब बजेटकाे याेजना

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गरेका छन्  । लुम्बिनीमा  आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवन शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री पौडेलले रुपन्देहीको देवदहमा झन्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना सार्वजनिक गरेका हुन ।

सरकारले विश्वविद्यालयलाई २०७७ सालमा झन्डै ९२ बिघा जमिनको भोगाधिकार देवदहमा दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको आठाैँ सभा बैठकले स्वीकृत गरेको थियो । सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताउदै भने “गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनु पर्छ,हामीहरू साथ र सहयोग गर्न सधैँ तत्पर छौँ ।”

विक्रम संवत् २०५१ मा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको क्षण स्मरण गर्दै उनले अहिले विश्वविद्यालयको स्वरूपमा पुगेको बताउदै  भने “यो विश्वविद्यालय देशको १ नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ । उच्च शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पु¥याउनु पर्छ ।”

बौद्ध दर्शनका साथै अन्य विषयसमेत अध्यापन गराउँदा विश्वविद्यालय अझै प्रभावकारी रूपमा अघि बढेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रूपमा ‘ब्रान्डिङ’ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रियस्तरमा फैलाउन निर्देशनसमेत दिए  ।

सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता व्यक्त गरे र भने  “बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन । यस्ता संस्थाको नेतृत्वमा लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्व बुझेको र ज्ञान भएको हुनुपर्दोरहेछ,” उनले भने , “उपप्रधानमन्त्री पौडेलले देशका ठुला योजना क्रमशः बन्दै गएको भन्दै त्यसको संरक्षण, सरसफाइमा हरेक नागरिक लाग्नु पर्छ ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटक भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्धनात्मक कार्यक्रम बनाइरहेको बताउदै भने त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने छ   ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्याएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठुलो सहयोग हुने विश्वास व्यक्त गरे  ।

उनले लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको बताए  । विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय छात्रावास निर्माण गर्न लागेको छ । यो निर्माण २० महिनाभित्र सकिने अपेक्षा छ । विश्वविद्यालयमा हाल करिब दुई सय विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *