जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदिन सात प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसमविद् डेबिड ढकालका अनुसार आगामी तीन दिन एक, दुई स्थानबाहेक आगामी तीन दिन भारी वर्षाको सम्भावना नभएको आङ्कलन गरिएको छ । उनले भने , “हिजो, अस्ति मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षा भएको थियो । मधेसको दक्षिणी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको हो । आगामी तीन दिनको कुरा गर्नुपर्दा सबैतिर भरी वर्षाको सम्भावना कम छ ।”
उनले “मध्यमदेखि हल्का वर्षाकै कारण पनि स्थान विशेष अनुसार सडक अवरुद्ध, पहिरो जस्ता विपद् हुनसक्ने , कुनै–कुनै प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कुनै स्थानमा भारी वर्षाले धेरै क्षति हुने भए पनि पानी निरन्तर पर्न थालेपछि मध्यम वर्षाले पनि स्थान विशेष असर पार्न सक्छ । कतै ठुलो वर्षाले पनि असर गर्दैन, तर कतै सानो वर्षाले पनि असर गर्छ ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता सुरेश सुनारका अनुसार मनसुनजन्य विपद्को पूर्व तयारी एवम् क्षति न्यूनीकरणका लागि मनसुन प्रतिकार्य कमान्ड पोस्टको नियमित बैठक बस्दै आएको छ । प्राधिकरणको गत असार ९ गते बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८२ को कार्यान्वयनका लागि सबै निकायको एकीकृत र समन्वयात्मक प्रयास हुनुपर्ने निर्णय गरेको थियो ।
सोही दिन मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो डुबान समेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थितिको विश्लेषण गरी सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन सुरक्षा समितिलाई निर्देशन दिने निर्णय गरिएको उनको भनाइ छ । उनले उक्त कमान्ड पोस्टको साउन ४ गते आइतबार तेस्रो बैठक बसेको जानकारी दिए ।
सो बैठकले असार २४ गते रसुवागढीस्थित भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको खोजी कार्यलाई सुरक्षा निकायले समन्वयात्मक रूपमा निरन्तरता दिने निर्णय गरेको छ । रसुवा बाढीका मृतक र बेपत्ताका परिवारलाई सम्बन्धित जिल्लाबाट सहज रूपमा राहत उपलब्ध गराउने व्यवस्था मिलाउने प्राधिकरणले स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको थियाे ।
प्रवक्ता सुरेश सुनारका अनुसार विद्युत् आपूर्ति र सञ्चार सेवालाई प्रभावकारी बनाउन विषयमा नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको थियाे ।
मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारणले विद्युत् आपूर्ति र सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेकोले सो सम्बन्धमा यथोचित र शीघ्र सम्बोधनको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल टेलिकम, एनसीएल लगायत दूरसञ्चार सेवा प्रदायक टावरहरूमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको छ ।
