भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो। अस्पतालका अनुसार वैशाख महिनामा ६० जनाको उपचार गरिएकामा जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ।
जसमध्ये पाँच जना विषालु सर्पले टोकेका बिरामी हुन्। यसैगरी, असार महिनामा १२६ सर्पदंशका बिरामीको उपचार गरिएको छ। जसमा नौ जना विषालु सर्पले टोकेका बिरामी रहेको थिए । अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा, लम्जुङदेखिका बिरामी आउने गरेका छन्।
अस्पतालमा आएकालाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार उपचार गर्ने गरिएको छ। विषालुअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायत पर्दछन्। करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नसालाई असर पुर्याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गरेको चिकित्सकले बताउने गरेका छन्।
विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गर्दै आएको अस्पतालले जनाएकाे छ । हाल यहाँ दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
