उज्यालो रङ्गशाला बन्दै त्रिवि मैदान

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद सुचना/प्रबिधि स्वास्थ्य

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर/जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ ।

जब नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हुन्छ तब कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा विश्वभर फैलिन्छ । अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकहरूले खचाखच भरिने त्रिविको यो खेलमैदान क्रिकेट मैदानका रूपमा परिचित भएको छ । टिकट काटेर पनि भुइँमा बसेर खेल हेर्न नपाउने क्रिकेटप्रमीहरू रुखमै चढेर हेरेका दृश्य पनि छन् । क्रिकेटको यो ‘क्रेज’ बुझ्नेका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा यो मैदान यतिखेर तीव्र रूपमा स्तरीय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा परिणत हुँदै छ ।

वर्तमान सरकार गठन भएपछि मन्त्रीपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लडलाइट (उच्च प्रकाश क्षमताको बत्ति) सहितको रङ्गशाला बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानको काम २०८१ फागुन २१ गते सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो । समयमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री ओलीले यही असार मसान्तभित्र जसरी पनि काम सक्न निर्देशन दिएका थिए  ।  प्रधानमन्त्रीको यो हुटहुटीबिच पनि स्तरोन्नतिको काम समयमा सम्पन्न हुन नसकेपछि सहरी विकास मन्त्रालयले ठेकेदार पक्षलाई जरिबाना तिराएको छ । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले प्रतिदिन ०.०५ प्रतिशतले जरिबानातिर्ने गरी काम गर्ने सहमति भएको बताए ।

४३ करोड ७७ लाखको टेन्डरमा प्यारापिट निर्माणको ठेक्का बिकेओआई केसिडिसी बिजी जेभीले पाएको छ भने फ्लडलाइटको काम विशाण–ईश्वरी जोइन्ट भेन्चरले पाएको छ । वर्षाको समय भएको र प्राविधिक विषयमा केही परिमार्जन भएकाले पहिलो पटक तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।

सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता नवराज शर्माले वर्षातका कारण विदेशबाट सामान ढुवानी हुन समस्या भएकाले काममा ढिलाइ भएको हुन सक्ने बताउदै भने  समयमा काम नसकेपछि कानुनी रूपमा दुई सय दिनको म्याद थप वा जरिवाना लगाएर काम गर्न सक्ने प्रावधान अनुरूप काम अघि बढाइएको हाे ।  शर्माका अनुसार सम्झौता फागुनमा भए पनि विभिन्न प्रक्रिया पूरा गर्दा काममा ढिलाइ भएको हो । गत वर्षको असार/ साउनमा नै काम सुरु गर्न पाएको भए अहिलेसम्म सकिने बताउँदै उनले कामको प्रक्रिया नै ढिला भएका कारण समयमा सक्न नसकेको दाबी गरे । “अन्यको दाँजोमा यहाँको काम द्रुत गतिमा भएको मान्नु पर्छ,” शर्माले भने  ।

आयोजना प्रमुख कण्ठले प्राकृतिक तथा विभिन्न प्राविधिक कारणले काम सम्पन्न हुन ढिलाइ भएको स्विकार्दै  फ्लडलाइटको बेस निर्माणको काम यसअघि नै सम्पन्न भइसके पनि सामान नआइपुगेकाले काम अघि बढ्न नसकेको बताए  ।

सकियो सत्तरी प्रतिशत काम

मैदानको चारैतिर प्यारापिटसहितको रङ्गशाला निर्माण हुँदै छ । पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र छ वटा फ्लडलाइट जडान गरिने छ ।  अहिलेसम्म प्यारापिटतर्फ ७० प्रतिशतभन्दा माथिको भौतिक प्रगति भएको प्रमुख कण्ठ बताउछन उनका अनुसार प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिने छन् । पूर्वमा ढलान गरी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म पहेँला, सेता, खैरा, हरिया, नीला र सुन्तला गरी पाँच रङका कुर्सी जडान गरिएको छ । पश्चिमी भागको प्यारापिट ‘टियु रोड’ देखि ‘चोभार इन्ड’ सम्म छ ब्लकसहित ६० हजार स्क्वायर फिटमा फैलिएको छ । त्यस्तै दक्षिण पूर्वी भागमा २३ हजार स्क्वायर फिटमा दुई ब्लकसहितको प्यारापिट निर्माण भइरहेको छ । पश्चिम ब्लकमा आधा ढलान बाँकी छ । वर्षात्का कारण बाटोको काममा ढिलाइ भएको हो ।

हुँदै छ फ्लडलाइटको काम 

सामान्यतया धेरै जसो क्रिकेट मैदानमा चार वटा फ्लडलाइट जडान गरिएका हुन्छन् । त्रिवि क्रिकेट मैदानमा भने छ वटा फ्लडलाइट राखिने छ । फ्लडलाइटको ४५ प्रतिशतभन्दा माथि काम भइसकेको छ । ४५ मिटर र ५५ मिटरसम्म अग्ला फ्लडलाइटका लागि तीन वटा पोल भारतबाट आइसकेको र तीन वटा आउन बाँकी रहेको कण्ठले बताउनुभयो । फ्लडलाइट जडानका लागि हाल ‘बेस’ पूर्ण रूपमा तयार भइसकेर जडान गर्न मिल्ने अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *