पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ । उनकाे आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा राखिएको छ । उनका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ हुने परिवारले जनाएका छन् । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख भएका थिए ।
विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । विसं २०४६ मा बशुदल पुन स्थापनापछि उनि नेकपा (एमाले) बाट २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए ।
व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।
