नागरिकता वितरणमा बेथितिः एउटै विवरणको नागरिकता दुई जनालाई

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको घटना बाहिरिएको छ । दुवै जनाको नाम गणेशकुमार महतो र नागरिकतामा १४६८२८८३ नम्बर उल्लेख छ । नाम र नागरिकता नम्बर एउटै भएपछि दुवै जना समस्यामा परेका छन् ।

दुवै जना बटेश्वर गाउँपालिकाको भए पनि  वडा भने फरक छ । एक जनाको बटेश्वर गाउँपालिका–१, सोनापुरका हुन् भने अर्का गणेश बटेश्वर गाउँपालिका–२, धुमासनका हुन् । धुमासनका गणेशका पिता रामकिसुन महतो हुन् र उनले  २०५६ माघ १३ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिएका  छन् । त्यस्तै, सोनापुरका गणेश भने रामगुलाम महतोका छोरा हुन् उनले २०५७ साल फागुन ३० गते सोही कार्यालयबाट नागरिकता प्राप्त गरेका छन् ।

सोनापुरका गणेशकुमारले बैङ्कमा खाता खोल्दा यो कुरा थाहा पाएको बताउदै भने केही दिनअघि एक बैङ्कमा खाता खोल्न गएको थिएँ  तर बैङ्कका कर्मचारीले तपाईँको नाममा पहिलादेखि नै खाता सञ्चालनमा रहेको भन्दै नयाँ खाता खोल्न मानेन । त्यसपछि त्यस खाताबारे बुझ्दै जाँदा धुमासनका गणेशकुमार भएको र नागरिकता नम्बर पनि एउटै भएको उनले सुनाए ।

उनका अनुसार नाम र नागरिकता नम्बर मिल्दा कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गर्दा समस्या भएको छ । म विदेश गएर फर्किएको व्यक्ति हुँ । पासपोर्टदेखि अन्य सबै कागजात यही नम्बरबाट बनेको छ ।  अब फेरबदल गर्नुपर्दा ठुलो समस्या पर्छ ।

उता, धुमासनका गणेश पनि यस्तै समस्याबाट हैरान छन् । हालसालै सरकारी सेवा र बैङ्किङ प्रणालीमा नागरिकता नम्बर अनिवार्य गरिएपछि मात्रै दुई फरक व्यक्तिमा एउटै नागरिकता नम्बर रहेको रहस्य खुलेको उनले बताए  । उनले कर्मचारीको गल्तीका कारण हामी दुई जनालाई समस्या भोग्नुपरिरहेको दुखेसाे पाेखे ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले दुई फरक व्यक्तिको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा दुवै नागरिकताको अभिलेख हेरेपछि मात्र केही भन्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *