कर्मचारीको मिलेमतोमा महोत्तरीमा मृतकको नाममा जग्गा किनबेच

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

महोत्तरीको गौशाला मालपोत कार्यालयमा एक जना मृतक व्यक्तिको नाममा जग्गा खरिदबिक्री भएको खुलासा भएको छ। साे कार्यमा मालपोतका केही कर्मचारी र भूमाफियाहरुको मिलेमतोमा नक्कली कागजात तयार पारेर जग्गाको कारोबार गरिएको घटना सार्वजनिक भएको हो ।

शिवभक्ति खोर २ (ख) स्थित कित्ता नम्बर १८३ मा रहेको ५ आना (१२.५ धुर) जग्गा महेश चौधरी नामका व्यक्तिको नाममा थियो। यो जग्गा कृषि क्षेत्रका लागि वर्गीकृत गरिएको थियो र उक्त जग्गामा बाटो समेत थिएन।

महेश चौधरी जग्गाधनी रहेकोमा उनको मृत्यु भइसकेको भए पनि गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले असार ६ गते  उक्त जग्गा बिक्रीको सिफारिस गरेका थिए।

मृतकको नाममा नक्कली कागजात बनाएर असार ८ गते सो जग्गा सम्सी गाउँपालिका–४ का रञ्जित कुमार साहको नाममा ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको थियो। नियम अनुसार, यस्तो रकम बैङ्क मार्फत भुक्तानी गरी भौचर मालपोतमा बुझाउनु पर्ने हो। तर, यो कारोबार नगदमा गरिएको पाइयो।

यसमा विक्रेताको नागरिकता प्रमाणित नगरी, बैङ्क खातामा पैसा जम्मा गरी, झुटा विवरण प्रयोग गरी लेखापढी व्यवसायी र मालपोत कर्मचारीको मिलेमतोमा कारोबार गरिएको छ।

गौशाला मालपोतका कर्मचारीका अनुसार महेश चौधरीको नाममा रहेको अन्य जग्गा पनि जलेश्वर मालपोत कार्यालयमार्फत बिक्री भएको थियो। तर, खरिदकर्ता र बिक्रेता बीच आर्थिक सहमति नजुटेपछि गौशाला मालपोतले नामसारी फिर्ता गरेको हो।

किर्ते कागजात प्रयोग गरी तीन पटक असार ६, ८, र ९ गते—जग्गा बिक्री भएको खुलेपछि असार १६ गते ती सबै कारोबार रद्द गरिएको मालपोतका सूचना अधिकारी विष्णु कुमार महतले जानकारी दिए ।

महतका अनुसार, बिक्रेता फरार छन् भने खरिदकर्ताबाट सहयोग लिएर फेरि जग्गा मृतककै नाममा फिर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *