साफ यू–२० च्याम्पियनसिप : दक्षिण एसियाका कट्टर प्रतिद्वन्द्वीबीचको भेट आइतबार

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। पछिल्लो ३ वर्षयता नेपाल र बंगलादेश दक्षिण एसियाली क्षेत्रको आर्च राइभल (कट्टर प्रतिद्वन्द्वी)को रूपमा चिनिएका छन्।

शुक्रबार ढाकाको बसुन्धरा किंग्स एरिनामा भएको आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदै नेपालले सुखद् सुरुवात गरेको छ। नेपालका लागि आजको खेलमा जित हात पारे उपाधि यात्रामा एक खुड्किलो नजिक पुग्नु हो। नेपाल र बंगलादेश  उपाधि दाबेदार टिम हुन्। उपाधिमा आफ्नो हात लम्काउन दुवै टिमले एकअर्कालाई हराउनु पर्ने छ।

बंगलादेशी टिममा ९ जना सिनियर टिममा स्थान बनाएका खेलाडी छन्। नेपाली टिममा भने भविष्यमा सिनियर टिममा पर्न सक्ने खेलाडी छन्। नेपालका प्रशिक्षक यम प्रसाद गुरुङ भन्छन्,‘उनीहरूसँग सिनियर टिममा खेलेका खेलाडी छन्। हामीसँग भविष्यमा सिनियर टिम खेल्न सक्ने खेलाडी छन्।’

प्रशिक्षक यमले पछिल्लो समयको बलियो प्रतिस्पर्धी मानिएको बंगलादेशसँग खेल्न आफूहरू तयार रहेको बताए। उनी भन्छन्, ‘बंगलादेश बलियो प्रतिस्पर्धी हो। उससँग खेल्न रमाइलो हुन्छ। दुवै टिम आक्रामक मानसिकतामा खेल्न मन पराउने टिम हो। तर त्यो खेलमा हाम्रो तर्फ नतिजा पर्न सक्छ।’

बलियो बंगलादेशविरुद्ध नेपाल

बंगलादेशको यू–२० समूहमा सिनियर टिमबाट खेलिसकेका ९ जना खेलाडी छन्। बंगलादेशले एसिया कप छनोट खेल्ने टिमका गोलकिपर स्वर्ण रानी मण्डल र माइल अख्तर, डिफेन्डर जोइनब बीबी रिता, मिडफिल्डर मुन्की अख्तर र सपना रानी, फर्वाड नबीरन खातुन, सागोरिका र उम्लि मार्मा तथा स्ट्राइकर अफिदा खानदोकरलाई साफ यू–२० का लागि छनोट गरेको छ।

स्ट्राइकर समेत रहेकी अफिदाले यू–२० को टिमको नेतृत्व गरेकी छन्। यो टिमलाई घरेलु समर्थक र मैदानको राम्रो साथ मिल्नेछ।  यिनै खेलाडी सम्मिलित टिमले पहिलो पटक एसियन कपमा स्थान बनायो। त्यसकारण पनि उनीहरूको मानसिकता निकै बलियो रहेको छ।

यस्तै नेपाली खेलाडीले पनि पहिलो खेलमा गरेको प्रदर्शनले  कमजोरको टिमको रुपमा मैदानमा उत्रने छैन। पहिला नेपाल र भारतको खेल दर्शकका लागि निकै रोचक हुने गर्थे। तर पछिल्लो समयमा दक्षिण एसियाली महिला फुटबलमा बंगलादेश र नेपालको खेल अझ रोचक हुन थालेको छ। साफ यू–२० प्रतियोगिता सुरु हुनु अघि एक बंगलादेशी पत्रकारले नेपाली प्रशिक्षक यम प्रसाद गुरुङलाई ‘आर्च राइभल’ शब्द प्रयोग गरी प्रश्न सोधेका थिए। प्रश्नको जवाफमा प्रशिक्षक यमले भने,‘हो पछिल्लो समय भारतभन्दा नेपाल र बंगलादेशको खेल निकै रोचक हुन्छ।’

उमेर समूहमा हालसम्म साफ च्याम्पियनसिपतर्फ कुनै पनि उपाधि जित्न नसकेको नेपाल यसपटक स्वर्ण पदकसहित विगतको रजतको छवि बिर्सन चाहन्छ। यसका लागि बंगलादेश नेपालको सबैभन्दा ठुलो अड्को हो। प्रशिक्षक यमले भने, ‘यस पटक यो टिममा च्याम्पियन बन्ने क्षमता छ।’

साफ यू–२० २०२३ महिला च्याम्पियनसिपको बंगलादेश च्याम्पियन हो । राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपालले लिग चरणमा ३–१ ले पराजित भएको थियो। नेपालका लागि मनमाया परियारले एक मात्र गोल फर्काएकी थिइन्। फाइनलमा नेपाल बंगलादेशसँग ३–० ले हार बेहोर्दै रजत पदक लगाएर घर फर्किएको थियो।

पहिलो खेल सकिँदा नेपाल र बंगलादेशले १–१ खेल जितेका छन्। गोलअन्तरले नेपाल बंगलादेशभन्दा पछि छ। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ९–१ ले पराजित गरेको हो। नेपालले भुटानमाथि ६–१ को जित दर्ता गर्‍यो।

हिलाम्य मैदानले बिगारेको नेपालको पहिलो खेल

नेपालका लागि पहिलो खेल जितसहितको सुरुवात रह्यो। तर जति खेल्नु पर्ने भुटान र नेपाल दुवै टिमका खेलाडीले खेल्न सकेनन्। दुवै टिममा प्रशिक्षकले मैदानको खुलेर निन्दा गरे।

मैदानकै कारण खेल जस्तो हुनुपर्ने हो त्यसो नभएको उनीहरूले बताए। भुटानकी प्रशिक्षक टंक माया घले भन्छिन्,‘मैदानको हालत निकै खराब थियो। हामीले यस्तो मैदानमा कहिल्यै खेलेका थिएनौँ।’ भुटानले पहिलो हाफमा हिलाम्य मैदानको कारण निकै संघर्ष गर्नुपरेको कुरा प्रशिक्षक घलेले बताइन्।

यस्तै नेपालका प्रशिक्षक यम प्रसाद गुरुङ पनि मैदानको स्थिति राम्रो नभएको बताउँछन्। ‘पहिलो हाफमा भन्दा दोस्रो हाफमा नानीहरूले राम्रो खेले। नानीहरूले यस्तो मैदानमा अभ्यास पनि कहिल्यै गरेका थिएनन्। यो पहिलो पटक यस्तो मैदानमा खेल्दा हामीलाई गाह्रो भयो। मैदानको अवस्था राम्रो भएको भए हामी अझै राम्रो खेल्न सक्थ्यौँ।’

नेपालले दोस्रो खेल बंगलादेशसँग बसुन्धरा किंग्स एरिनामा आज साझ ६ः४५ मा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *