पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले पूर्व राजाको सचिवालय लेख्ने शर्तमा छाडेको छ । शुक्रबार बिहानैदेखि सोधपुछमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठकलाई श्री ५ महाराजधिराज सम्बोधन नगर्ने शर्तमा छाडिएको हो । ‘उहाँलाई परिवारको सदस्यका साथमा पठाइएको छ, संविधानसम्मत शब्दहरू प्रयोग गर्ने गरी पठाइएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले भने ।
उनलाई संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार बिहानै सोधपुछका लागि बोलाइएको थियो । पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाइएको थियो । मुलुकमा राजसंस्था विस्थापित भएको १५ वर्ष भएपनि पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सचिवालयबाट राजाकै हैसियतमा विज्ञप्ति जारी गर्न लगाउने गरेका थिए ।
‘श्री ५’ भन्नु व्यक्तिगत आस्थाको विषय : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५’ को रूपमा सम्बोधन गर्नु व्यक्तिगत आस्थासँग सम्बन्धित विषय भएको बताएका छन्। उनले यो विषय संविधान वा कानुनसँग नजोडिएको स्पष्ट पारेका छन्।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो। यो संविधान र कानुनको विषय होइन। नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रुपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रुपमा सम्मान गर्छु।’
उनले पूर्वराजालाई श्री ५ भनेर सम्बोधन गरेकै आधारमा कसैलाई पक्राउ गर्ने, सोधपुछ गर्ने वा थुनामा राख्ने कार्यलाई गैर राजनीतिक र गैरप्रजातान्त्रिक भएको ठहर गरेका छन्।
उनले लेखेका छन्, ‘राजा ज्ञानेन्द्रलाई श्री ५ ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो।’
