जल तथा मौसम विज्ञान विभागकानुसार शुक्रबार साँझ नेपाल मनसुन प्रवेश गरेकोछ । नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ । तर यस वर्ष ६ दिन ढिलो मनसुन प्रवेश गरेको हो ।
मौसमविद् अशोक बर्खेलका अनुसार विभागले जुन २० को आसपासमा मनसुन भित्रिने संकेत रहेको प्रक्षेपण गरेको थियो । उनले एलनिनो प्रभावका कारण मनसुन ढिलो प्रवेश हुने गरेको बताए ।
एलनिनो के हो ?
हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा प्रभाव परेको उनको भनाइ छ । उनले भने , “यो सामान्यतया पूर्वबाट भित्रिएर पश्चिमतिर सर्दै जान्छ । इस्टर्लि विन्ड (पूर्वबाट आउने हावा) भूमध्ये रेखातिरबाट एकदम ठुलो मात्रामा बहन्छ । प्रशान्त महासागर हुँदै आइरहेको हुन्छ र त्यो हावा चाहिँ यो वर्ष कमजोर भएको छ ।”
उनले एलनिनो हरेक वर्ष कमजोर नहुने तर कहिलेकाहीँ दुईदेखि सात वर्षको अन्तरालमा बेला–बेलामा कमजोर हुने गरेकाे बताउदै भने “यो कहिलेकाहीँ दुर्ईदेखि सात वर्षको अन्तरालमा बेला–बेलामा कमजोर भइरहेको देखिन्छ । यो पूर्वेली हावा कमजोर भएको बेलामा प्रशान्त महासागर, समुद्रको पानी बढी तातो हुने, त्यही कन्डिसनलाई नै एलनिनो भनिन्छ ।”
अर्का मौसमविद् डेबिड ढकालले भन्छन “एलनिनो प्रशान्त महासागरमा विकसित हुने एउटा प्रणाली हो जसले विश्वभर नै प्रभाव पार्ने गर्छ । यो समुद्रमा हुने तापक्रमको थपघटले गर्दा विकसित हुने हुन्छ । विश्व मौसम सङ्गठनले विश्वभर जलवायु परिवर्तनको सूचना उत्पादन गर्ने केन्द्रले आँकलन गरेको प्रारुपका आधारमा विभागले पनि पूर्वानुमान गरेको हो ।”” उनका अनुसार यो वर्ष विश्व मौसम सङ्गठनले पनि एलनिनोको प्रभाव हुन्छ भनेर भनिसकेको छ ।
कति पर्छ पानी ?
यस वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६६ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भूभाग, गण्डकी प्रदेशका पूर्वी भूभाग, बाग्मती प्रदेशका दक्षिणी भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
बर्खेलका अनुसार सामान्यतया मनसुनको समयमा १३ सय ८२ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष यसको ९० प्रतिशतभन्दा थोरै पानी पर्ने पूर्वानुमान छ ।
मजसुन ढिला भित्रिएका बर्षहरू
विगतका केही वर्षमा पनि एलनिनो प्रभावले मनसुन आगमन ढिलो भएको थियो । विभागका अनुसार सन् १९७२ जुन १८, १९८२ जुन २७, १९८३ जुन २४, १९८७ जुन १४, १९९२ जुन २१, १९९७ जुन १४, २००२ जुन १५, २००९ जुन २३, २०१६ जुन १५, २०१९ जुन २०, २०२३ जुन १४ मा मनसुन भित्रिएको थियो ।
बर्खेलले भने , “पहिलाको डेटामा एलनिनो भएको सन्दर्भमा सामान्य अवस्थाको समयभन्दा केही समय ढिलो हुन आएको परम्परा चाहिँ पत्ता लगाएको छ ।” एलनिनोका कारण मनसुन ढिलो भित्रिएको परम्परा पत्ता लागेको उनको भनाइ छ ।
पूर्वानुमान नमिल्नाका कारणः
मौसम पूर्वानुमानले प्रारम्भिक अवस्थाको पूर्वानुमान र यसको पूर्वसूचना दिनुपर्दछ । प्रायः अवस्थामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान मिले पनि कतिपय अवस्थामा पूर्वानुमान ठ्याक्कै नमिल्ने अवस्था रहन्छ ।
बर्खेल भन्छन् “माैसम पूर्वानुमान गर्नलाई अहिलेको अवस्था कस्तो छ ? त्यो कुरा सटिक तरिकाले दियौं भने अबको केही समयपछि के भयो ? भनेर भन्नुपर्छ । लोकालिटी जति टाढा भयो त्यसको स्किल घटेर जान्छ । सकेसम्म नजिकै दिने प्रयास गरिन्छ जुन चाहिँ बढी सम्भावना हुन्छ । त्यसकारण हामीले सकेसम्म १२ घण्टामा अपडेट गर्छौं ।”
