युक्रेनविरुद्ध जारी युद्ध अन्त्यका लागि रूसमाथि थप दबाब बढाउन जी–७ राष्ट्रका नेताहरू सहमत भएका छन् ।फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ नेताहरूसँग भेटवार्ता गरेका थिए । फ्रान्सेली कूटनीतिक स्रोतका अनुसार नेताहरूले ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय गरेका छन् । साथै, युद्धको वर्तमान अवस्थाले युक्रेनलाई केही रणनीतिक लाभ पुगेको निष्कर्षसमेत निकालिएको छ ।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसले सम्झौता गर्नुपर्ने बताएका छन् । उनले युद्धका कारण दुवै पक्षमा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताए । राष्ट्रपति जेलेन्स्कीले युक्रेनका प्राथमिकतामा हवाई प्रतिरक्षा प्रणाली सुदृढीकरण, जाडो मौसमका लागि सहयोग तथा रूसमाथि थप अन्तरराष्ट्रिय दबाब रहेको बताए ।
उनले रूस युद्धमा विजयी नभएको र राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने धारणा व्यक्त गरे । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिए । ती प्रतिबन्धमा रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीमा संलग्न ट्याङ्करहरू समेटिएका छन् ।
शिखर सम्मेलनमा पश्चिम एशियाको अवस्थाबारे पनि छलफल भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो समझदारीपछि क्षेत्रीय स्थायित्वका विषयमा आफ्ना सहयोगी राष्ट्रसँग विचारविमर्श गरेकाछन् । तीनदिने शिखर सम्मेलन आजबुधबार सम्पन्नहुने कार्यक्रम छ ।
