अमेरिका र इरान युद्ध अन्त्य गर्न सहमत भएका छन् । लामो कूटनीतिक प्रयाससँगै दुवै मुलुक युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएका हुन् । आउँदो शुक्रबार स्विट्जरल्यान्डमा दुवै देशबिच अन्तरिम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
दुवै मुलुकका नेताले अन्तरिम सम्झौतामा सहमति भएको समाचार सोमबार सार्वजनिक गरेका छन् । यो सम्झौता कार्यान्वयनमा आएसँगै विश्वबजारमा तेल र प्राकृतिक ग्यास आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ ।
यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विट्जरल्यान्डमा हुने जानकारी गराएको छ । यो सहमतिले पश्चिम एसियामा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्न मार्गप्रशस्त गर्ने विश्लेषण गरिएको छ ।
सम्झौता अन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य के हुने भन्ने हो । यस विषयमा समाधान खोज्न पक्षलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन बर्सौं लागेको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको हो ।
ह्वाइट हाउसमा आफ्नो ८० औँ जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलमार्ग खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गरेका थिए । तर उनले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पारेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौतामा सहमति भएको पुष्टि गर्दै हस्ताक्षरपछि मात्रै कार्यान्वयन सुरु हुने बताए । उनका अनुसार पाकिस्तान, कतारलगायतको मध्यस्थतामा भएको वार्तापछि यो समझदारी सम्भव भएको हो । इजरायलले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । गत फेब्रुअरी २८ मा अमेरिका इजरायलसँग मिलेर इरानमाथि आक्रमण गरेसँगै युद्ध सुरु भएको थियाे ।
बजारमा सकारात्मक प्रभाव
सम्झौताप्रतिको आशाले अन्तर्राष्ट्रिय बजारमा तत्काल प्रभाव देखिएको छ । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल चार डलरभन्दा बढीले घटेको छ भने एसियाली सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सबै पक्षले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको जानकारी दिएका छन् तर इजरायलले यस विषयमा औपचारिक सहमति जनाएको छ वा छैन भन्ने अझै स्पष्ट छैन ।
पाकिस्तानी अधिकारीका अनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा व्यापक वार्ता हुने छ । आवश्यक परे समयसीमा थप लम्ब्याउन सकिने पनि जनाइएको छ । इरानी सरकारी सञ्चार माध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उद्धृत गर्दै युद्ध तत्काल अन्त्य हुने र अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हटाइने जनाएको छ ।
सहमतिको स्वागत
अमेरिका र इरानबिच सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि विश्व समुदायले त्यसलाई पश्चिम एसियामा स्थायित्व ल्याउने सम्भावित अवसरका रूपमा लिएको छ । संयुक्त राष्ट्रसङ्घदेखि युरोप, खाडी क्षेत्र र एसिया–प्रशान्तका मुलुकले सम्झौताको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सहमतिलाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदमको संज्ञा दिनुभएको छ । उहाँले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हर्मुज जलमार्ग तत्काल र बिनासर्त पुनः खोलिनुपर्ने बताए । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले हर्मुज जलमार्गमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनः स्थापित हुनुपर्नेमा जोड दिएका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगनले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अपनाउन आग्रह गरे भने जापानका प्रधानमन्त्री साने ताकाइचीले हर्मुज जलमार्ग हुँदै सुरक्षित र स्वतन्त्र जलयातायात सुनिश्चित हुने अपेक्षा व्यक्त गरे ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गरेका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनुले विश्व व्यापार मार्गलाई स्थिर बनाउने, इन्धन आपूर्ति सहज पार्ने तथा विश्व अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेका छन् ।
