खाद्यपदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढेसँगै यसले जनस्वास्थ्यमा जोखिम बढाएको देखिएको छ । सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गरेर बिक्रीगर्ने चलनले नसर्ने रोगको जोखिमबढाउने विभिन्न अध्ययनले देखाएका छन् ।
उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा वा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन् । ‘हेल्थ इन्भारोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसन’ ले केही समयअगाडि गरेको अध्ययनमा कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्यवस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढी हुन्छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका पात, कपडा र माटोका भाँडाको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग बढिरहेको छ ।
खाद्य वैज्ञानिक जीवनप्रभा लामाका अनुसार बजारमा पाइने रङ्गीचङ्गी (हरियो, पहेँलो आदि) प्लास्टिकमा खाद्यवस्तु राख्दा त्यसको रसायन खानेकुरामा सर्ने (केमिकल माइग्रेसन) सम्भावना उच्च हुन्छ । ‘फुड ग्रेड’ प्लास्टिकमा प्याकेजिङ गरिएको खाद्यवस्तुको महìवबारे जोड दिँदै उनले दर्ता नभई खाद्यवस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकेजिङमा ठुलो समस्या रहेको बताइन । “जस्तो कि प्लास्टिकको कपमा तातो चिया पिउँदा प्लास्टिकका ससाना कण चियासँगै शरीरमा मिसिन पुग्छ, प्लास्टिकका बोतल वा भाँडा पटक पटक प्रयोग गर्दा पनि स्वास्थ्यका लागि घातक हुन सक्छ,” उनले भनिन् ।
लामाका अनुसार दर्ता भएका र खाद्य अनुज्ञापत्र लिएका उद्योगले ‘फुड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स’ भएको प्लास्टिक प्रयोग गर्छन् । यस्तो प्लास्टिकमा हानिकारक रसायन खानेकुरामा सर्ने (केमिकल माइग्रेसन) जोखिम सामान्य वा रङ्गीचङ्गी प्लास्टिकको तुलनामा कम हुन्छ । फुड ग्रेड प्लास्टिकमा प्याकिङ गरिएका दुग्धजन्य पदार्थ वा अन्य खाद्यवस्तु सुरक्षित रहनका लागि निश्चित तापक्रम व्यवस्थापन हुनु अनिवार्य हुन्छ । अन्यथा यसमा प्याकेजिङ गरिएका खाद्यवस्तुले पनि स्वास्थ्यमा असर पार्ने छ ।
नेपालमा खाद्यवस्तुको गुणस्तर र सुरक्षासम्बन्धी मापदण्ड खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गर्छ । सामान्यतया अन्तर्राष्ट्रिय अभ्यास र विभागको निर्देशिका अनुसार दुध जस्ता चाँडै बिग्रने वस्तुका लागि ‘कोल्ड चेन’ (४ डिग्री सेल्सियसआसपास) कायम राख्नुपर्ने प्रावधान छ । तेल वा बोसोयुक्त खाद्यवस्तु र अम्लीय पदार्थमा प्लास्टिकबाट रसायन मिसिने सम्भावना सुक्खा पदार्थको तुलनामा बढी हुन्छ । यी रसायन शरीरमा प्रवेश गर्दा हर्मोनमा असन्तुलन ल्याउने, प्रजनन स्वास्थ्यमा असर गर्ने र दीर्घकालीन रूपमा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम रहन्छ ।
विभागको खाद्य सुरक्षा मापदण्ड अनुसार फुड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दुध र दही जस्ता खाद्यवस्तुलाई ४ डिग्री सेल्सियस (४० डिग्री फरेनहाइट) भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ । ठोस वा सुक्खा खाद्यवस्तु पाउरोटी, बिस्कुट र चामल जस्ता खाद्यवस्तुलाई कोठाको सामान्य तापक्रम (२० देखि २५ डिग्री सेल्सियस) मा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।
विभागका निर्देशक ईश्वरी सुवेदीले प्लास्टिकको बट्टामा अमिलो वा तातो खानेकुरा राख्नु ‘स्लो प्वाइजन’ (सुस्त विष) जस्तै भएको बताउदै भन्छिन ‘फुड ग्रेड’ प्लास्टिक पनि मुख्यतया चिसो वस्तुका लागि मात्र बनाइएका हुन्छन्, जसमा तातो वा अमिलो पदार्थ राख्दा टक्सिन (विषालु तत्व) पैदा हुन्छ । विशेष गरी पिभिसी प्लास्टिकमा तातो खानेकुरा राख्दा अझै जोखिम बढी हुने छ ।
‘फाउन्डेसन’ को अध्ययनमा प्लास्टिक तयार पार्न १२ हजारभन्दा बढी रसायन प्रयोग हुने गरेको उल्लेख छ । यस्ता रसायनयुक्त प्लास्टिकमा प्याकेजिङ गरिएका खानेकुराले उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग जस्ता घातक रोगको जोखिम बढाउने दाबी सो अध्ययनमा गरिएको छ । तथ्याङ्क अनुसार विश्वमा प्रतिमिनेट १० लाखभन्दा बढी प्लास्टिकका बोतल खपत हुने गरेका छन् । विज्ञले प्लास्टिकको सट्टा काँचका बोतल, स्टेनलेस स्टिलका भाँडा वा परम्परागत काठका ठेकी र माटाका भाँडा प्रयोग गर्न सुझाव दिएका छन् ।
दुध र तेलका लागि काँचलाई सबैभन्दा उत्तम विकल्प मानिन्छ किनकि यसले खाद्यवस्तुसँग कुनै रासायनिक प्रतिक्रिया गर्दैन र स्वादलाई पनि यथावत् राख्ने खाद्य वैज्ञानिक जीवनप्रभा लामा बताउछिन । उनका अनुसार खानेतेल भण्डारण गर्न र दुध सङ्कलन गर्न स्टेनलेस स्टिलका भाँडा सुरक्षित र टिकाउ हुन्छन् ।
