नेपाल–चीन सीमास्तम्भ अनुगमन

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल–चीनबिचको सिमानाको समग्र अनुगमन र सीमास्तम्भ रेखदेख गर्ने कार्य भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको (बिओपी) टोलीले नियमित रूपमा सिमाना र सीमास्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो ।

हिल्सामा रहेको सशस्त्र प्रहरी बिओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिणी क्षेत्रमा स्थापना गरिएको चारदेखि ११ नम्बरका सीमास्तम्भको रेखदेख तथा समग्र सिमानाको अवस्थाको अनुगमन गर्ने कार्य सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर विकले बताए  ।

यी सीमास्तम्भको रेखदेख तथा अनुगमन गर्न सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरीलाई एक हप्ता समय लागेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर हुम्लाको प्रमुख जिम्मेवारी अनुसार सीमा अनुगमन कार्यलाई प्रमुख प्राथमिकता दिई कार्य सम्पादन गर्ने कार्य भएको उनले भने  ।

सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले नेपाल चीनसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा २६२.३ किलोमिटर क्षेत्रफलमा रहेका १५ वटा सीमास्तम्भको अभिलेखीकरण, वर्तमान अवस्था, र सीमासम्बन्धी अन्य विवरणबारे वस्तुगत जानकारी लिने कुरालाई प्राथमिकतामा राखी अनुगमन गर्ने कार्य भएको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल बिओपी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटाको नेतृत्व रहेको टोलीलाई सीमास्तम्भको अनुगमन गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी निरीक्षक सापकोटाको टोलीले सीमास्तम्भ नम्बर ४ देखि ११ को अनुगमन गर्ने कार्य पूरा गरेको उनकाे भनाइ छ ।

दुई देशबिचको सिमाना अनुगमन तथा सीमास्तम्भको रेखेदेख कार्यले अवस्था सन्तोषजनक रहेको बताउँदै उहाँले यो कार्य वर्षको दुई पटक र अरू आवश्यक अनुसार गर्ने गरिएको बताए  । पाँच हजार २५० मिटर उचाइसम्म रहेका यी सीमास्तम्भको अनुगमन गर्न सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बिहान छ बजे पैदल गएर चार नम्बर सीमास्तम्भमा अनुगमन गरी बेलुका छ बजे मात्र चौकीमा फिर्ता आइपुगेको थिए ।

यसै गरी गत शनिबार मात्र सशस्त्र प्रहरीका निरीक्षक सुनारको टोलीले सिमकोटबाट नाम्खा गाउँपालिका– ६ को लाप्चा क्षेत्रमा रहेको १२ नम्बर सीमास्तम्भको पनि अनुगमन गर्ने कार्य गरेको थियो । सो सीमास्तम्भको अनुगमनपछि अवस्था सन्तोषजनक रहेको सशस्त्र प्रहरी निरीक्षक विकले बताए  । अब चीनसँगको हुम्ला खण्डका सीमास्तम्भमध्ये तीन नम्बर बाँकी रहेको र त्यो पनि मौसमको अनुकूलता हेरेर अनुगमन गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *