साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इन्जुरी समयमा सम्हालिन नसक्दा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरएकाे छ । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपालको उपाधि यात्रा यसपटक पनि अन्त्य भएको छ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख देखिएको खेलमा नेपालले अतिरिक्त समयमा गोल खाएपछि फाइनल पुग्ने अवसर गुमाएको हो।

खेलको २२औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। दीपा शाहीले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्दै उनले टोलीलाई सुरुआती अग्रता दिलाएकी हुन्।

पहिलो हाफमा अग्रता कायम राखेको नेपालले दोस्रो हाफको सुरुवातमै बराबरी गोल बेहोर्न पुग्यो। ४६औँ मिनेटमा बंगलादेशकी ऋतु पोर्ना चक्माले कर्नरबाटै सिधा गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्‍याइन्।

खेलको अन्त्यतिर दुवै टोलीले निर्णायक गोलको खोजी गरिरहेका बेला इन्जुरी समयको ९३औँ मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। नेपाली रक्षापंक्तिले बल क्लियर गर्न नसकेको अवस्थाको लाभ उठाउँदै उनले विजयी गोल गरेकी थिइन्।

यस जितसँगै बंगलादेश लगातार तेस्रोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ। उपाधिका लागि बंगलादेशले भारत र भुटानबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल भने समूह चरणमा भुटानलाई १-० तथा श्रीलंकालाई २-० ले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *