काठमाडौं-शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ।

कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ। कम्पनीका अनुसार काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौं फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ।

हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए। उनले काठमाडौं–शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ। शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ’, उपाध्यक्ष श्रेष्ठले भने।

चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ। नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *